काठमाडौं । बिचौलिया दीपक भट्टको दबाबपछि हिमाल रिसोर्टको अनियमितताबारे राज्यका निकायहरूबाट भइरहेको अनुसन्धान एकाएक स्थगित भएको छ ।
सत्ता र शक्तिको आडमा बिचौलिया दीपक भट्टलगायतको गिरोहले सरकारसँग हदबन्दी छुट नलिई हिमाल रिसोर्ट प्रालिका नाममा १८१ रोपनी १० आना जग्गा किनेको थियो । त्यसलाई २०८१ असोज २० गते विभिन्न व्याक्ति तथा कम्पनीका नाममा टुक्रा पारेर बिक्री गर्दा राजस्व छली, सम्पत्ति शुद्धीकरण, प्रचलित कानुनको उल्लङ्घनलगायतमा भइरहेको अनुसन्धान स्थगित भएको हो ।
अनुसन्धान गर्ने निकायहरू अख्तियार दुरुपयोग अनुसन्धान आयोग, आन्तरिक राजस्व विभाग, राजस्व अनुसन्धान विभाग, सम्पत्ति शुद्धीकरण विभागले छुट्टाछुटै अनुसन्धान गरे पनि बिचौलिया भट्टकै हस्तक्षेपले बीचमै रोकिएको छ । तत्कालीन प्रधानमन्त्री केपी ओलीको पालामा हिमाल रिसोर्टको नाममा उक्त चलखेल भएको थियो । त्यसमा तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले सहयोगीको भूमिका निर्वाह गरेका थिए । तर जेन–जी प्रदर्शनपछि ओली सरकार अपदस्थ भएर पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम चुनावी सरकार गठन भएपछि हिमाल रिसोर्टको नाममा भएको उक्त अनियमितताको फायलमाथि छानबिन हुने जनअपेक्षा रहेको थियो । यद्यपि अर्थमन्त्री रामेश्वर खनाल कारबाहीको पक्षमा देखिएनन् । बिचौलिया भट्टले प्रधानमन्त्री कार्कीका सम्धी सुरेश भट्टको सम्बन्धलाई यसमा उपयोग गरे ।
बिचौलिया भट्टको घर र अफिसमा छापा मार्न भट्ट थरकै सीआईबीका एक डीएसपीलाई खटाइएको थियो । सीआईबीको टोली भट्टको अखडामा पुग्दा नपुग्दै भट्ट र हिमाल रिसोर्टका फायल त्यहाँबाट अन्यत्र सारिसकिएको थियो । छापा मार्न खटाइएको डीएसपी निरञ्जन दत्त भट्टले नै बिचौलिया भट्टलाई ‘सीआईबीको टोली छापा मार्न आउन लागेको’ पूर्वसूचना दिएको स्रोत बताउँछ ।
स्रोतका अनुसार त्यही घटनाबाट भट्टले हिमाल रिसोर्टमा गरेको घोटालामा उसलाई उन्मुक्ति दिने प्रक्रिया सुरु भएको थियो । हदबन्दी छुट नलिई हिमाल रिसोर्टको नाममा किनिएको उक्त जग्गा २०८१ असोज २० गते प्रचलित नियम कानुनविपरीत टुक्राएर विभिन्न व्याक्ति तथा कम्पनीको नाममा बिक्री गरिएको थियो । उक्त गैरकानुनी हर्कतमा बिचौलिया दीपक भट्टका पिता चतुर्भुज प्रसाद भट्टदेखि उनका साझेदारहरू उपेन्द्र हिरावत र अभिषेकलगायतका व्यक्ति संलग्न रहेको पाइएको छ ।
उक्त जग्गा घोटालामा क्याप्टेन विकास राणा, अमृत शाक्य, सुवर्णलाल श्रेष्ठ पनि संलग्न रहेको छ र त्यसमा सुवर्णका छोरा सञ्चीतकृष्ण श्रेष्ठले पनि बिचौलियाको भूमिका निभाएका छन् । श्रेष्ठको भूमिकाले उक्त घोटालामाथिको अनुसन्धान नरोकिएपछि बिचौलिया भट्ट आफैँले हस्तक्षेप गरेका थिए । भट्टले विकास राणाको नामको ५०–५० लाखको सेयर किनेर अरु सेयरको नगद नलिएर सम्पत्ति शुद्धीकरणको हर्कत गरेका थिए । आफ्नो बुबा चतुर्भुज प्रसाद भट्टको नामको सेयर उक्त घोटालामा अख्तियारले नेपाली नागकिता दिलाएर आफ्नै पाटर्नर हरावत र अभिषेकको नाममा सारेका थिए ।
अनुसन्धान अधिकृत दबाएर थालेको अनुसन्धान अहिले अचानक रोकिएको छ । अख्तियारमा उक्त जग्गा नियमविपरीत टुक्रा पारेर बिक्री गराउने भूमिसुधार तथा मालपोत कार्यालय ललितपुरका तत्कालीन प्रमुख जीवन सेढाईँसँग अख्तियारले तारन्तार बयान लिएको छ । तर उनले बयानमा आफ्नो जानकारीविना नै उक्त जग्गा कानुनविपरीत नामसारी भएको बताएको सम्बद्ध स्रोतले जनाएको छ । सुवर्ण लालका छोरा सञ्चित लाल श्रेष्ठले अख्तियारको छानबिन निस्तेज पार्न प्रहरी प्रशासनको शक्ति प्रयोग गरेको स्रोतको दाबी रहेको छ ।
भूमिसुधारका तत्कालीन प्रमुख सेढाईँले नियमविपरीत जग्गा टुक्राएर बिक्री गरिएको कुराचाहिँ अख्तियारमा साबिती बयान दिएका छन् । उक्त जग्गा किन्दा र बेच्दा मूल्यमा हेराफेरी गरेर राजस्व छली गरेको विषयमा आन्तरिक राजस्व विभागले पनि छानबिन गरेको छ तर अर्थमन्त्री खनालको हस्तक्षेपपछि छानबिन रोकिएको छ । हिमाल रिसोर्टको नाममा भएको उक्त कारोबारमा स्रोत नखुलेको कालोधनको प्रयोग भएको र सम्पत्ति शुद्धीकरणको प्रयोग भएको र सम्पत्ति शुद्धीकरणको विषयमा भएको छुट्टै छानबिनलाई प्रधानमन्त्री सुशीला कार्कीले नै हस्तक्षप गरेर रोकेको बताइएको छ ।
बिचौलिया भट्टले पछिल्लो समय प्रधानमन्त्री कार्कीसँग सम्धी खलकको नाता लगाउने गरेको बताइएको छ । बारबरा फाउन्डेसनका डा. सन्दुक रुइत र हामी नेपालका सुदन गुरुङसँगको सम्बन्धका कारण पनि भट्ट सेफ जोनमा रहेको बताएर कर्मचारी प्रशासनलाई प्रभाव पारेर हिमाल रिसोर्टको अनियमितताबाट उम्कने प्रयास गरिरहेको बताइएको छ । हिमाल रिसोर्ट प्रालिको नाममा भएको घोटलामा अख्तियारले छानबिन गर्न भूमिसुधार तथा मालपोत कार्यालय ललितपुरलाई गत कात्तिक १७ गते लेखेको गोप्य पत्र आर्थिक दैनिकलाई प्राप्त भएको छ तर उक्त पत्रपछि छानबिन नै सुस्त भएको पनि सुनिएको छ ।
कार्की प्रधानमन्त्री हुनुअघि एमालेका केपी ओली प्रधानमन्त्री थिए । त्यतिबेला बलराम अधिकारी भूमिसुधार मन्त्री थिए । उनको नाममा उठौतीपुठौतीका काम मन्त्री अधिकारीको फिनल्यान्ड बस्ने छोरो मनोज अधिकारी भाइहरू धर्मराज अधिकारी र शालिकराम अधिकारीले गर्ने गर्दथे । छोरोचाहिँ फिनल्यान्ड फर्किएपछि दुई भाइले नै सबै काम गर्ने गर्दथे । तीमध्ये धर्मराज अधिकारी विड विजन कम्पनीको हाकिम हुँदा ३५ लाख रुपैयाँ भ्रष्टाचार गरेको मुद्दा लागेको थियो भने अर्का भाइ शालिक राज अधिकारी बर्दियाको एमाले अध्यक्ष हुन् ।
उनीहरूमार्फत रकम बोलकबोल गरेर बिचौलिया भट्टले नियम कानुन मिचेर उक्त काम गराएका थिए । सालिकराम यसअघि लुम्बिनी विकास कोषमा काम थर्दथे, गत फागुन २१ मा उनी बर्दिया १ बाट एमाले उम्मेदवार भएर पराजित भएका छन् ।