पोखरा । पोखरामा हुन लागेको दोस्रो संस्करणको वाडा अटो शोको सम्पूर्ण तयारी पूरा भएको छ । पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसन (वाडा)ले सोमवार पत्रकार सम्मेलन गरि तयारी पूरा भएको जानकारी दिएको हो ।
नाडा अटोमोवाइल्स एसोसिएसन अफ नेपालको प्रस्तुतीमा वाडाले चैत्र ११ गते देखि १५ गतेसम्म नाडा प्रजेन्ट्स् वाडा अटो शो आयोजना गर्न लागेको छ । प्रदर्शनीमा सवारी साधन खरिद बिक्री एवं आधुनिक प्रविधि विकासबारे प्रत्यक्ष जानकारी उपलब्ध गराइने छ । क्षेत्रीयलगायत केन्द्रमा रहेका अटो व्यवसायी समकक्षीहरूलाई एउटै छानामुनि भेला गराइ सहज व्यवसायिक वातावरण निर्माण गर्न प्रदर्शनीले सहयोग गर्नेछ । आयोजकका अनुसार विभिन्न जिल्लाहरू एवं प्रदेशहरूबाट हुने व्यवसायिक भेलाले अटो व्यवसाय प्रवद्र्धनमात्र नभई आन्तरिक पर्यटनलाई समेत टेवा पुर्याउने छ । प्रदर्शनीले स्थानीय रुपमा देखिने वा महसुस गरिने विभिन्न व्यवसायिक समस्याहरूको चिनारी गर्ने तथा त्यसका सामाधानका विकल्पहरु खोज्ने साझा थलो बन्न सक्ने आयोजकहरूको विश्वास रहेको छ ।
प्रदर्शनीमा १६ वटा ब्राण्डका ४–पाङ्ग्रे, ६ वटा ब्राण्डका लाइट कमर्सियल, १० वटा ब्राण्डका २–पाङ्ग्रे, एउटा हेभी कमर्सियललगायत लुब्रिकेन्ट, टायर, ग्यारेज उपकरण, अन्य एसोसेरिजहरू तथा वित्तिय संस्थाहरूका २० वटा स्टलहरू रहने छन् । प्रदर्शनीमा नया पुस्तालाई नेपालमा भित्रिएका र गुडाइएका एैतिहासिक पुराना मोडलका कारहरूको जानकारी उपलब्ध गराउने उदेश्यले विशेष भिन्टेज कार शोको आयोजना गरिने छ । साथै अत्याधुनिक प्रविधि विकास एवं नवपरिवर्तनसंग आम सर्वसाधारणलाई साक्षात्कार गराउनका लागि रोबोटहरू पनि प्रदर्शनमा राखिने जनाइएको छ । यसमा युनिट्रि जी वान ह्युमानोइड रोबोट, युनिट्रि गो टु, चंखे जस्ता आकर्षक रोबोटहरू रहने छन् ।
प्रदर्शनीमा ४५ हजारले अवलोकन गर्ने आयोजकको विश्वास छ । खल्ती एपबाट टिकट खरिद गर्दा प्रत्येक दिन पहिलो सयजना साधारण टिकटमा पचास प्रतिशत तथा पहिलो सयजना विद्यार्थी टिकटमा सय प्रतिशत फिर्ता हुने गरी व्यवस्था गरिएको छ । प्रदर्शनीमा पोखरा महानगरपालिका प्रबद्र्धक रहेको छ भने प्रदर्शनीको व्यवस्थापन ग्लोबल एक्सपोजिसन एन्ड म्यानेजमेन्ट सर्भिसेज (जेम्स)ले गरी रहेको छ । प्रदर्शनीको पावर्डबाईमा राइड इनर्जी, इन्सुरेन्स पार्टनरमा शिखर इन्सुरेन्स, हस्पिटल पार्टनरमा दीर्घायु पोखरा हस्पिटल, टिकटिङ्ग पार्टनरमा खल्ती एप, क्यूआर पार्टनरमा युनियन पे, हस्पिटालिटी पार्टनरमा टेम्पल बेल, इन्टरनेट पार्टनरमा पोखरा इन्टरनेट, फायर सेफ्टी पार्टनरमा हिटको प्रा.लि., फर्निचर पार्टनरमा सिटिजन फर्निचर, प्रिन्टिङ्ग पार्टनरमा पोखरा क्रिएटिभ्स प्रा.लि. जस्ता प्रतिष्ठित संस्थाहरू रहेका छन् ।