काठमाडौ । नेपाल राष्ट्र बैंकको संयोजनमा विगत वर्षहरूजस्तै यस वर्ष पनि एभरेस्ट बैंकले यही चैत २ गतेदेखि चैत आठ गतेसम्म ग्लोबल मनि विक २०२६ को अवसरमा सप्ताहव्यापी रूपमा देशभर वित्तीय साक्षरता कार्यक्रमहरू सम्पन्न गरेको छ ।
बैंकका अनुसार कार्यक्रम अन्तर्गत बैंकले आफ्ना सात वटै प्रदेशका शाखाहरूमार्फत विभिन्न विद्यालय तथा क्याम्पसहरूमा वित्तीय साक्षरता कार्यक्रम आयोजना गरी तीन हजार भन्दा बढी विद्यार्थीहरूमाझ वित्तीय साक्षरताको सन्देश प्रवाह गर्न सफल भएको छ । साथै, उक्त कार्यक्रममा केही विद्यार्थीहरूलाई बैंकको शाखा नै अवलोकन गराइ बैंकले प्रदान गर्ने सेवाहरूबारे व्यावहारिक जानकारीसमेत गराइएको छ ।
‘स्मार्ट मनि टक्स’ भन्ने नाराका साथ सञ्चालन गरिएका यी कार्यक्रमहरूमा युवाहरूलाई वित्तीय ज्ञान, सीप, मनोवृत्ति, वित्तीय समावेशीकरण, सुरक्षित डिजिटल कारोबारका साथै बैंकहरूले दिने सेवा र त्यसमा अपनाउनुपर्ने सावधानीजस्ता महत्वपूर्ण विषयहरूमा समेत सचेत गराइएको थियो ।
एभरेस्ट बैंकका हालसम्म करिब १४ लाखभन्दा बढी ग्राहकहरू रहेका छन् भने देशभर एक सय ३३ वटा शाखा सञ्जाल, चारवटा एक्सटेन्सन काउन्टर, सातवटा प्रादेशिक कार्यालयहरू र एक सय ६३ वटा एटीएम सञ्चालनमा छन् । विश्वव्यापी नेटवर्कमार्फत अत्याधुनिक मोबाइल, इन्टरनेट र एसएमएस बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको यस बैंकले नेपाल सरकारको राजस्व संकलनका लागि ३३ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ ।