काठमाडौ । याङ्गो राइडले हालै काठमाडौंमा बाइक चालकहरूका लागि सडक सुरक्षा तथा ट्राफिक नियमसम्बन्धी ओरियन्टेसन कार्यक्रम आयोजना गरेको छ ।
याङ्गो राइडले काठमाडौं उपत्यका ट्राफिक प्रहरीको सहकार्यमा कार्यक्रम आयोजना गरेको हो । सुरक्षित सवारी अभ्यास प्रवद्र्धन गर्न, ट्राफिक नियमप्रति सचेतना बढाउन तथा चालक र यात्रुको सुरक्षाको महत्वलाई अझ मजबुत बनाउन कार्यक्रम आयोजना गरेको कम्पनीले जनाएको छ । सो अवसरमा याङ्गो राइडले सहभागी चालकहरूलाई हेल्मेट तथा अन्य सुरक्षात्मक सामग्री पनि वितरण गरेको थियो । कार्यक्रममा ट्राफिक नियमको पालना, दुर्घटना न्यूनीकरण, जिम्मेवार सवारी सञ्चालन तथा यात्रुप्रति सम्मानजनक व्यवहारबारे प्रशिक्षण प्रदान गरिएको थियो ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) नवराज अधिकारीले सडक दुर्घटना न्यूनीकरणका लागि ट्राफिक नियमको पालना र सुरक्षित सवारी बानी अपनाउनु आवश्यक रहेको बताए । उनले चालकहरूलाई जिम्मेवार र सम्मानजनक व्यवहार अपनाउन पनि आग्रह गरे ।