काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले मार्जिन कारोबार सुविधासम्बन्धी कार्यप्रक्रिया २०८२’ लागू गरेको छ । नेप्सेको बुधवार साँझ बसेको सञ्चालक समिति बैठकले ‘मार्जिन कारोबार सुविधासम्बन्धी कार्यप्रक्रिया २०८२’ पारित गरेसँगै बिहीबारदेखि उक्त व्यवस्था कार्यान्वयनमा आएको हो ।
योसँगै अब केही दिनमा प्राविधिक तयारी पूरा हुने र मार्जिन कारोबार सुरु हुने नेप्सेले जनाएको छ । यो व्यवस्थाअनुसार नेप्सेले तोकेको सूचीकृत संगठित संस्थाको सेयरमा मात्रै कारोबार सदस्यले ग्राहकलाई मार्जिन कारोबार सुविधा दिनुपर्नेछ । यसको लागि तत्काल कारोबार हुनसक्ने गरी कम्तीमा २५ लाख कित्ता सेयर सर्वसाधारणमा जारी भई नेप्सेमा सूचीकृत भएको हुनुपर्नेछ । यसैगरी नेटवर्थ चुक्ता पुँजी बराबर वा सोभन्दा बढी भएको, पछिल्लो तीन वर्षमा कम्तीमा दुई वर्ष खुद नाफा भएको, प्रारम्भिक सार्वजनिक निष्कासनमार्फत निष्कासन भएको सेयर सूचीकरण भएको कम्तीमा दुई वर्ष पूरा भएको कम्पनीले मात्र मार्जिन कारोबारसम्बन्धी सेवा दिन पाउनेछन् । नेप्सेले भने प्रत्येक आर्थिक वर्षका लागि मार्जिन कारोबारयोग्य सूचीकृत संगठित संस्थाको सूची सार्वजनिक गर्नुपर्ने कार्यप्रक्रियामा उल्लेख छ ।
कार्यप्रक्रिया अद्यावधिक गर्दा कुनै सूचीकृत संगठित संस्था मौजुदा सूचीबाट हट्न गएमा त्यस्तो सूचीकृत संगठित संस्थाका लागि प्रदान गरेको मार्जिन सुविधा ३० कारोबार दिनभित्र राफसाफ गर्नुपर्नेछ वा शत प्रतिशत मार्जिन कायम गर्नुपर्नेछ । कार्यप्रक्रियाअनुसार मार्जिन कारोबार खाता, प्रारम्भिक तथा सम्भार मार्जिनसम्बन्धी व्यवस्थाअन्तर्गत लगानीकर्ताले मार्जिन कारोबार सुविधा उपयोग गर्नका लागि कारोबार सदस्यसमक्ष मार्जिन कारोबार खाता खोल्न निवेदन दिनुपर्नेछ । लगानीकर्ताले मार्जिन कारोबार सुविधाअन्तर्गत खरिद रकमको न्यूनतम ३० प्रतिशतले हुन आउने रकम कारोबार सदस्यले लगानीकर्तासँग प्रारम्भिक मार्जिनको रूपमा लिनुपर्ने पनि कार्यप्रक्रियामा उल्लेख छ ।
मार्जिन कारोबार सुविधाअन्तर्गत खरिद गरिएको सेयर मार्जिन रकम तथा सम्बन्धित ग्राहकको विवरण छुट्टाछुट्टै अभिलेख बनाइराख्नु पर्नेछ । मार्जिन कारोबार सुविधाअन्तर्गत खरिद भएको सेयरको मूल्यांकन दैनिक रूपमा माक्र्ड टु मार्केटको आधारमा गर्नुपर्नेछ । तर उक्त सेयरको मूल्यमा भएको वृद्धिको आधारमा थप सुविधा दिन नपाइने कार्यप्रक्रियामा उल्लेख छ । ग्राहकको जोखिम मूल्यांकन, बजारको अवस्था तथा सूचीकृत संगठित संस्थाको सेयरमा निहित जोखिमलाई दृष्टिगत गरी कारोबार सदस्यले मार्जिनभन्दा बढी मार्जिन माग गर्न सक्नेछ । कारोबार सदस्यले मार्जिन कारोबार सुविधा अवधिभर बजारको अवस्था तथा जोखिम हेरी लगानीकर्तासँग न्यूनतम २० प्रतिशतले हुन आउने रकम सम्भार मार्जिन कायम राख्नुपर्नेछ भने लगानीकर्ताले सम्भार मार्जिन कायम गर्न नसकेको अवस्थामा कारोबार सदस्यले मार्जिन कल गर्नुपर्ने कार्यप्रक्रियामा उल्लेख छ ।
कार्यप्रक्रियाअनुसार मार्जिन कल गरेको अर्को कारोबार दिनको कारोबार सुरु हुनुअगाडि सम्बन्धित लगानीकर्ताले नगद वा मार्जिन कारोबारयोग्य सेयर जम्मा गरी कम्तीमा सम्भार मार्जिन कायम गर्नुपर्नेछ । यसैगरी मार्जिन कल गरेको दोस्रो कारोबार दिनसम्म पनि सम्बन्धित लगानीकर्ताले सम्भार मार्जिन कायम गर्न नसकेमा कारोबार सदस्यले सम्भार मार्जिन कायम गर्नका लागि आवश्यक पर्ने मार्जिन खाताअन्तर्गतका कुनै पनि सेयर बिक्री गर्न सक्नेछ । कार्यप्रक्रियाअनुसार यस कार्यप्रक्रियामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए पनि मार्जिन कल गरेपछि कुनै पनि समयमा मार्जिन खातामा लगानीकर्ताको मार्जिन १५ प्रतिशत वा सोभन्दा कम भएमा कारोबार सदस्यले लगानीकर्ताको मार्जिन कारोबार खातामा सम्भार मार्जिन कायम गर्न आवश्यक पर्ने सेयर बिक्री गर्न सक्नेछ ।
यसरी धितोपत्र बिक्री गर्दा कारोबार सदस्यलाई लगानीकर्ताको अनुमति आवश्यक पर्ने छैन । मार्जिन कर्जाको भाखा समाप्त भई नवीकरण नभएको वा नगद भुक्तानी गरी मर्जिन कर्जा चुक्ता नगरेको अवस्थामाबाहेक कारोबार सदस्यले अन्य कुनै कारणले मार्जिन खातामा रहेका सेयर बिक्री गर्न नसक्ने पनि कार्यप्रक्रियामा उल्लेख छ । लगानीकर्ताले सम्भार मार्जिन कायम गर्न नसकेमा कारोबार सदस्यले लगानीकर्तासँग उक्त मार्जिन कायम गर्न आवश्यक रकमबराबरको धितोपत्र बजारमा सूचीकृत ‘ए’, ‘बी’ र ‘जी’ वर्गमा रहेका संगठित संस्थाको सेयर धितोको रुपमा लिन सक्नेछ । उक्त सेयरको मूल्य गणना गर्दा बजार मूल्यको ६० प्रतिशतले हुन आउने मूल्यलाई मात्र गणना गर्नुपर्ने कार्यप्रक्रियामा उल्लेख छ ।
मार्जिन खाताअन्तर्गत रहेका सेयरमा सूचीकृत संगठित संस्थाहरूले बोनस सेयर जारी गर्ने भएमा दाखिल खारेज बन्दपछि मार्जिन खाताको वास्तविक मार्जिन गणना गर्दा उक्त सेयरले प्राप्त गर्ने बोनस सेयरलाई बजार मूल्यको आधारमा गणना गर्नुपर्नेछ । मार्जिन खाताअन्तर्गत रहेका सेयरमा सूचीकृत संगठित संस्थाको विषेश वा साधारण सभाले हकप्रद सेयर जारी गर्ने भएमा कारोबार सदस्यले हकप्रदको अनुपात हेरी उक्त धितोपत्रहरूको लागि छुट्टै सम्भार मार्जिन तोक्न सक्नेछ । कार्यप्रक्रियाअनुसार ब्रोकर कम्पनीहरूले आफ्नो नेटवर्थको अधिकतम पाँच गुणासम्म मात्र मार्जिन सुविधा उपलब्ध गराउन पाउने सीमा तोकिएको छ । सोअनुसार एउटा ग्राहकलाई आफ्नो प्रमाणित नेटवर्थको पाँच प्रतिशतभन्दा बढी मार्जिन सुविधा दिन पाइने छैन । मार्जिन कारोबार सुविधा उपलब्ध गराउन चाहने धितोपत्र दलाल (ब्रोकर) कम्पनीको चुक्ता पुँजी न्यूनतम २० करोड रुपैयाँ हुनुपर्नेछ ।