काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले विद्यार्थीहरूलाई वित्तीय रूपमा सक्षम र सचेत बनाउने उद्देश्य राख्दै २०२६ मार्च १६ देखि २२ सम्म मनाइएको ग्लोबल मनि विक २०२६ को अवसरमा सप्ताहभर विविध कार्यक्रमहरू आयोजना गरी सम्पन्न गरेको छ । यस वर्षको ग्लोबल मनि विक २०२६ को नारा स्मार्ट मनि टक्सलाई सार्थक बनाउने प्रयास स्वरुप बैंकले देशका सातै प्रदेशमा विद्यालय एवं क्याम्पस गरी ३८ स्थानहरूमा विद्यार्थी लक्षित वित्तीय साक्षरता कार्यक्रमहरू सञ्चालन गरेको बैंकले जानकारी दिएको छ ।
बैंकले प्रदान गर्ने सेवा, डिजिटल कारोबार र यसमा अपनाउनुपर्ने सावधानीका विषयमा सचेत गराई विद्यार्थीहरूमा वित्तीय ज्ञान, सीप, मनोवृत्ति तथा व्यवहारमा सुधार ल्याउने उद्देश्यले सञ्चालन गरिएको सो कार्यक्रममा दुई हजार एक सय ७१ जना विद्यार्थीहरूको सहभागिता रहेको थियो । साथै, विद्यार्थीहरूलाई बैंकको आधारभूत बैकिङ्ग सञ्चालन र विभिन्न बैंकिङ्ग माध्यमहरूसम्बन्धी व्यवहारिक रूपमा शिक्षा प्रदान गर्ने उद्देश्यले चार सय ७८ जना विद्यार्थीहरूलाई बैंकका विभिन्न शाखाहरूमा भ्रमण कार्यक्रम पनि आयोजना गरिएको थियो । यसरी ग्लोबल मनि विक २०२६ मा बैंकले कुल ५१ वटा कार्यक्रमहरूमार्फत दुई हजार छ सय ४९ विद्यार्थीहरूलाई वित्तीय शिक्षा प्रदान गरेको छ ।
देशका सबै वर्ग, क्षेत्र र समुदायसम्म वित्तीय सेवाको पहुँच विस्तार गरी सर्वसाधारणलाई वित्तीय रूपमा सक्षम बनाउने उद्देश्यका साथ बैंकले उक्त कार्यक्रमहरू सञ्चालन गर्नुका साथै सप्ताहभरी दैनिक रूपमा सामाजिक सञ्जालमार्फत जानकारीमूलक सामग्रीहरू समेत प्रकाशन गरेको थियो । वित्तीय सचेतनाको आवश्यकता र महत्वबारे जनचेतना अभिवृद्धि गर्ने प्रयास स्वरुप बैंकद्वारा गरिएको कार्यक्रमहरूबाट ग्लोवल मनि विक २०२६ का मूल उद्देश्यहरू हासिल गर्न सकारात्मक योगदान पुगेको छ भन्ने बैंकले विश्वास लिएको छ ।