दोलखा । जिल्लाको वैतेश्वर गाउँपालिकाले २१ प्रतिशत पुँजीगत खर्च गरेको छ । चालु आर्थिक वर्ष २०८२/०८३ को फागुन महिनासम्म पालिकाले सो खर्च गरेको हो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश पौडेलले फागुन मसान्तसम्म ४ करोड ९८ लाख ३९ हजार ९ सय ४९ रुपैयाँ पुँजीगत खर्च भएको जानकारी दिए । पालिकाले चालु आवमा पुँजीगततर्फ २३ करोड ४५ लाख ५० हजार रुपैयाँ विनियोजना गरेको थियो । पालिकाले कुल बजेट ४५ करोड १८ लाख १८ हजार रुपैयाँमध्ये हालसम्म १५ करोड ६२ लाख २७ हजार ९ सय ९२ रुपैयाँँ खर्च भएको छ ।
पालिकाले हालै सार्वजनिक सुनुवाइ कार्यक्रम गरी आर्थिक वर्ष २०८२/०८३ को वार्षिक आम्दानी तथा खर्च प्रतिवेदन सार्वजानिक गरेको हो । गाउँपालिकाको अध्यक्ष छवि लामाको सभापतित्वमा भएको कार्यक्रममा उपाध्यक्ष कल्पना उप्रेति, सातवटै वडाका वडाध्यक्षहरू तथा सम्बन्धित शाखाका शाखा प्रमुखले सार्वजनिक सुनुवाइ कार्यक्रममा उठेका प्रश्नहरूको जवाफ दिएका थिए । उपाध्यक्ष उप्रेतिले जनताको मागबमोजिम हरेक ४/४ महिनामा सार्वजानिक सुनुवाइ कार्यक्रम गर्ने बताइन् । कार्यक्रममा खानेपानी पाइपको समस्या, सडक निर्माण अवस्था र पशु शाखामार्फत हुने सेवाका बारेमा गुनासा आएका थिए ।