काठमाडौं,गोरखा सेभिङ एन्ड क्रेडिट सहकारी संस्था लिमिटेडमा ठूलो आर्थिक अनियमितता भएको आशंकामा अध्यक्षसहित चार जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सहकारीका अध्यक्ष ६१ वर्षीय इमानसिंह राई, प्रमुख कार्यकारी अधिकृत लालबहादुर क्षेत्री, प्रमुख कार्यकारी अधिकृत अविन कुमार राई तथा पूर्व लेखा सदस्य कर्णबहादुर राई रहेका छन्। उनीहरूलाई काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरिएको प्रहरीले बताएको छ । प्रहरीका अनुसार सहकारीमा १० हजार ५९८ बचतकर्ताको कुल ४ अर्ब ५ करोड ६० लाख ६८ हजार ४५८ रुपैयाँ बचत रहेको देखिएको छ। तर सो रकममध्ये १ अर्ब ४९ करोड १६ लाख ३३ हजार ९२४ रुपैयाँ मात्र ऋण तथा लगानीका रूपमा प्रवाह गरिएको पाइएको छ।बाँकी ठूलो रकमको कुनै स्पष्ट विवरण फेला नपरेपछि हिनामिनाको आशंका गरिएको प्रहरीले जनाएको छ। साथै, प्रवाह गरिएको ऋणसमेत कमसल धितो वा बिना धितो दिइएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। पक्राउ परेका चारै जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको छ। घटनाबारे विस्तृत अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।