काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले देशलाई आर्थिक रूपान्तरण गर्न ठूला लगानी परियोजनामा ध्यान केन्द्रित गर्न आग्रह गरेका छन् ।
गैरआवासीय नेपाली संघ(एनआरएनए)को प्रतिनिधिमण्डलसँग भएको भेटमा उनले ठूला परियोजनामा लगानी गर्न आग्रह गरेका हुन् । मुलुकको आर्थिक समृद्धिमा गैर आवासीय नेपालीको भूमिका महत्वपूर्ण हुने उनको भनाइ थियो । छलफलमा उनले एनआरएनएले उठाउँदै आएका महत्वपूर्ण एजेन्डाहरूलाई कार्यान्वयनमा लैजाने बताए । मन्त्री खनालले नागरिकतासम्बन्धी विषयमा केही कानुनी जटिलताका कारण थप अध्ययन र कानुन संशोधनको आवश्यकता रहेको उल्लेख गरे । यस्तै उनले पोर्चुगलमा रहेका नेपालीको समस्यालाई लिएर मन्त्रालयले मानवीय आधारमा पहल गरिरहेको जानकारी दिए । प्राविधिक कठिनाइ हुँदाहुँदै पनि मानवीय दृष्टिकोणबाट समाधान खोज्न सम्बन्धित देशसँग संवाद भइरहेको उनको भनाइ थियो ।
एनआरएनएका अध्यक्ष डा. हेमराज शर्माले सरकारले विदेशमा रहेका नेपालीहरूको अधिकार र सुविधा सुनिश्चित गर्न पहल गर्नुपर्नेमा जोड दिए । विदेशमा रहेका नेपालीहरूले आफ्नो अनुभव, ज्ञान र पुँजी नेपालको विकासमा योगदान पुर्याउन सक्ने क्षमता राख्ने उनको भनाइ छ । त्यसका लागि सहजीकरण आवश्यक रहेको उनले बताए । उनले गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्यन गर्न, र यससम्बन्धी कानुनी र संवैधानिक पहल अघि बढाउन सरकारको ध्यानाकर्षण गराए । अध्यागमन, सम्पत्ति, बैंकिङ, सवारी साधन, राष्ट्रिय परिचयपत्र तथा मताधिकारसम्बन्धी अधिकारहरू प्रभावकारी रूपमा कार्यान्यन गरिनु पर्ने उनको भनाइ थियो । साथै, विदेशमा समस्यामा परेका नेपालीहरूको सहायताका लागि दूतावासको जनशक्ति वृद्धि, नयाँ दूतावास स्थापना र कानुनी सहायता प्रणाली निर्माण गर्न आग्रह गरे ।
एनआरएनएका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले वर्तमान सरकारले समृद्ध नेपाल निर्माणको लागि विदेशमा रहेका नेपालीहरूको सहकार्य लिनुपर्ने बताए ।