काठमाडौं । शेयर बजारले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई नपत्याएको देखिएको छ । अर्थमन्त्रीमा डा. वाग्ले नियुक्त भएपछि सुरु भएको लगातारको ओरालो यात्राले साताको पहिलो दिन आज आईतबार आफ्नो रौद्र रुप देखाएको छ ।
शेयर बजार परिसुचक नेप्से आज एकैदिन एक सय पाँच दशमलव ५० अंकले ओरालो लागेर २६ सय ७६ दशमलव ६८ बिन्दुमा खुम्चिएको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि १५ दशमलव ६२ अंकले ओरालो लागेर चार सय ५७ दशमलव ६१ बिन्दुमा खुम्चिएको छ । धितोपत्र बजारमा आज तीन सय ४५ वटा कम्पनीहरुको एक लाख ४१ हजार ३६ पटकको कारोबारमा तीन करोड १२ लाख छ हजार एक सय ६२ कित्ता शेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा आज कुल कारोबार रकम १२ अर्ब ३८ करोड नौं लाख १४ हजार पाँच सय ७० रुपैंयाँ कायम भएको छ ।
धितोपत्र बजारमा आज वटा उपसमुहहरुको शेयर कारोबार भएकाछन् । ति मध्ये बाणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा, लघुवित्त सहितका १३ वटै उपसमुहहरुको सुचक ओरालो लाग्दा शेयर बजार पुरै रातो देखिएको छ ।