काठमाडौंं । एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो स्थापनाको १८औं वर्ष पूरा गरी १९औं वर्षमा प्रवेश गरेको छ । कम्पनीले २०६४ चैत २१ गतेबाट कारोबार प्रारम्भ गरेको हो । १९औं वर्ष प्रवेशको उपलक्ष्यमा कम्पनीले चैत २० गतेदेखि सप्ताहव्यापी रुपमा देशभर संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विविध कार्यक्रमहरु आयोजना गरिरहेको छ ।
वार्षिकोत्सवको अवसरमा रक्तदान जीवन दान भन्ने नारालाई आत्मसाथ गर्दै चैत २० गते मैतीदेवीस्थित प्रधान कार्यालय परिसरमा आयोजित रक्तदान कार्यक्रममा ६० जनाले रक्तदान गरेका छन् । यसैगरी किस्ट मेडिकल कलेज तथा टिचिङ अस्पतालसँगको सहकार्यमा आयोजित निःशुल्क दन्त शिविरबाट ६६ जना लाभान्वित भएका छन्। साथै देशभरका विभिन्न एक सय दुईवटा शाखा, उपशाखा कार्यालयहरुमार्फत वृद्धाआश्रम, सामुदायिक विद्यालय, अनाथालय तथा सामाजिक संघ संस्थाहरुलाई शैक्षिक सामग्री, खाद्यान्न तथा फर्निचरलगायत सामग्री वितरण गरिएको छ ।
वार्षिकोत्सवको अवसरमा प्रधान कार्यालयमा चैत २० गते आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा कम्पनीको संचालक समिति अध्यक्ष दिपक कुमार श्रेष्ठले एसियन लाइफ इन्स्योरेन्सको व्यवसायिक यात्रामा सत्र वर्षदेखि निरन्तर सहयोग पुर्याउँदै आएका सम्पूर्ण शुभेच्छुकहरुमा हार्दिक आभार व्यक्त गरे । उनले जीवन उत्कृष्ट बीमा सेवा प्रवाह गर्दै बीमित र सेयरधनीलाई उच्च प्रतिफल प्रदान गर्नका लागि कम्पनी प्रतिबद्ध रहेको व्यक्त गरे । सो अवसरमा कम्पनीको सञ्चालक समिति सदस्य, प्रमुख कार्यकारी अधिकृत, उच्च व्यवस्थापन तथा प्रधान कार्यालयका कर्मचारीहरुको सहभागिता रहेको थियो ।
कम्पनीको चालु आर्थिक वर्ष २०८२/८३ को फागुनसम्ममा जीवन बीमाकोष ५० अर्ब ८५ लाख, कुल लगानी ५० अर्ब ४५ करोड रहेको छ । यसैगरी, कम्पनीले फागुन मसान्तसम्ममा कुल बीमा शुल्क ६७ अर्ब ९६ करोड रुपैयाँ संकलन गरेको छ । चालु आवको पुस मसान्तसम्ममा कम्पनीको सक्रिय बीमालेख संख्या सात लाख ५३ हजार रहेको छ । चालु आ.व. मा फागुन मसान्तसम्ममा कुल बीमा शुल्क छ अर्ब ५२ करोड आर्जन गरेको छ । अधिकृत पुँजी छ अर्ब रहेको यस कम्पनीको चुक्ता पुँजी पाँच अर्ब २५ करोड १२ लाख (पाँच प्रतिशत बोनस सेयर सूचीकृत पश्चात् कायम हुने) रहेको छ ।