काठमाडौं । होटल पौवा प्रालिले आफ्नो १०औँ वार्षिकोत्सवको अवसरमा देशभर रहेका सम्पूर्ण शाखाहरूमा ‘स्वाद उत्सव’ कार्यक्रम आयोजना गर्ने भएको छ ।
कम्पनीका अनुसार आगामी चैत्र २६, २७ र २८ गते तीन दिनसम्म सञ्चालन हुने उक्त उत्सवमा होटल पौवाका सबै शाखाहरूमा विशेष परिकार, नेपाली रैथाने स्वाद तथा विविध आतिथ्य कार्यक्रममार्फत ग्राहकहरूलाई विशिष्ट अनुभव प्रदान गरिनेछ । होटल पौवाका अध्यक्ष दुर्गाप्रसाद ज्ञवालीले छोटो अवधिमै नेपाली हस्पिटालिटी क्षेत्रमा पौवाले आफ्नो छुट्टै पहिचान स्थापित गर्न सफल भएको बताए । ‘पहिलो दशकलाई हामीले संस्थागत बाल्यकालका रूपमा लिएका छौं । यस अवधिले हामीलाई अनुभव, आत्मविश्वास र स्पष्ट दिशा दिएको छ’, उनले भने । उनका अनुसार आगामी दशकमा देशका प्रमुख पर्यटकीय गन्तव्यहरूमा शाखा विस्तार गर्दै आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनमा सक्रिय भूमिका निर्वाह गर्ने योजना कम्पनीले अघि सारेको छ ।
होटल पौवाका उपाध्यक्ष धुव्रराज न्यौपानेका अनुसार व्यावसायिक दृष्टिले १० वर्ष छोटो समय भए पनि होटल पौवाले यस अवधिमा हासिल गरेको विस्तार र संस्थागत विकास उल्लेखनीय बनेको छ । ‘सात कोठाबाट सुरु भएको यात्रा आज पाँचतारे होटल तथा रिसोर्ट अवधारणातर्फ अघि बढिरहेको छ’, उनले भने, ‘सामूहिक लगानीको मोडेलमार्फत विकसित हुँदै गएको पौवा नेपाली चेन होटलको सम्भावना प्रमाणित गर्ने उदाहरण बनेको छ ।’ रुपन्देहीको सालझण्डीस्थित सात कोठे सानो घरबाट सुरु भएको होटल पौवाले छोटो अवधिमै नेपाली आतिथ्य क्षेत्रमा आफ्नो छुट्टै पहिचान स्थापित गर्दै हाल देशका विभिन्न स्थानमा २० वटा शाखा सञ्चालन गरिरहेको छ ।
वार्षिकोत्सवकै अवसरमा कम्पनीले आफ्ना लगानीकर्ता तथा सहयात्रीहरूसँग भावी रणनीति र विस्तार योजनाबारे छलफल गर्ने उद्देश्यले ‘बितायौं बालापन’ अवधारणामा भैरहवा शाखामा लगानी सम्मेलन आयोजना गर्ने जनाएको छ । उक्त सम्मेलन कम्पनीको दीर्घकालीन विस्तार रणनीति ‘मिसन १००’ लाई सफल बनाउन केन्द्रित रहने उपाध्यक्ष न्यौपानेले जानकारी दिए ।