काठमाडौं । आयात निर्यातकर्ता व्यवसायीहरूको प्रतिनिधि संस्था नेपाल समुद्रपार निकासी पैठारी संघले हचुवाको भरमा वस्तु आयातमा प्रतिबन्ध लगाउन नहुने बताएको छ ।
संघको ४५औं वार्षिक साधारणसभामा संघका अध्यक्ष अध्यक्ष शिवकुमार अग्रवालले सरकारदे हचुवाको भरमा वस्तु आयात प्रतिबन्द गर्दा समस्या उत्पन्न हुने गरेको बताए । वस्तु आयातमा पनि दुख दिने काम भइरहेको उल्लेख गरे । आयातित वस्तु बढी राजस्व प्राप्त हुने शीर्षकमा राखेर जाँचपास गर्न दबाब दिने परिपाटी अन्त्य ह्ुनुपर्ने उनको भनाई छ । खुला सीमानाका छिद्रमार्फत हुने अनधिकृत आयात रोक्न नेपाली र भारतीय बजारबीच वस्तुको मूल्यमा ठूलो ग्याप नहुने गरी कर र महसुलका दरहरू समायोजन गर्न पनि उनले सरकारसंग माग गरे । नेपाल उद्योग परिसंघका अध्यक्ष विरेन्द्रराज पाण्डेले निजी क्षेत्रलाई सहयोग हुने खालको नीतिगत व्यवस्थाको आवश्यकता औंल्याउँदै उत्पादन र निर्यातप्रवद्र्धनमा लाग्नुपर्ने बताए ।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले जनताले चाहेको परिवर्तन र निजीक्षेत्रले चाहेको स्थायित्व आएकोले अब आर्थिक क्रान्तिको शुभारम्भ हुनुपर्नेमा जोड दिए । नीतिगत कारणले १ लाख ५० हजार व्यवसायी कालोसूचीमा परेको औंल्याउँदै उनले बहुदरको मूल्य अभिवृद्धिकर बारे अध्ययन गर्नुपर्ने आवश्यकता औंल्याए । निजी क्षेत्रका चासोका विषयको पैरवीमा संघसँग एकमत भएर अघि बढ्ने प्रतिबद्धता पनि उनले जनाए । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले नीतिगत समस्या समाधानका लागि महासंघ र निजी क्षेत्रका अन्य संघसंस्थाले सहकार्य गर्नुपर्ने बताए ।