काठमाडौं । नेपाल राष्ट्र बैंकले एकीकृत परिपत्र २०८२ मा संशोधन गरेको छ । मंगलबार विदेशी विनिमय कारोबार गर्ने सम्बन्धमा जारी गरिएकोे एकीकृत परिपत्र–२०८२ (एकीकृत परिपत्र–२०८१ र सो पश्चात् मिति २०८२/१२/२४ सम्म जारी परिपत्र÷सूचना समेत समावेश गरी परिमार्जन गरेको राष्ट्र बैंकको भनाइ छ ।
सोअनुसार वस्तु आयातसम्बन्धी व्यवस्था भारत तथा अन्य मुलुकबाट हुने आयात सम्बन्धमा आयात प्रतीतपत्र खोल्न निवेदन दिने आयातकर्ताले एउटै प्रतीतपत्रमार्फत एकभन्दा बढी समूहअन्तर्गतका सामानहरूको प्रतीतपत्र खोल्दा वा भुक्तानी गर्दा समूहअनुसार भिन्दा–भिन्दै मूल्य तथा परिमाण अनिवार्य रुपमा उल्लेख गर्नुपर्ने छ ।
यसैगरी खाद्य पदार्थ आयात गर्न खोलिने प्रतीतपत्रसम्बन्धी व्यवस्था : यस व्यवस्थाअन्तर्गत अनुसूची १.१६ मा उल्लिखित खाद्य तथा पेय पदार्थ आयात गर्दा नेपाल सरकारको सम्बन्धित निकायबाट पूर्व स्वीकृति लिनुपर्ने छ । आयातसम्बन्धी कागजातमा उल्लिखित आयातकर्ता, निर्यातकर्ता, परिमाण र मूल्यसम्बन्धी विवरण त्यस्तो अनुमतिपत्रमा उल्लेख भएको विवरणसँग मेल खाएको हुनुपर्ने संसोधित व्यवस्थामा उल्लेख छ ।