काठमाडौँ । पूर्व प्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले १३ दिन लामो हिरासतबाट छुटे लगत्तै आफ्नो रिहाइका लागि आवाज उठाउने सबैप्रति सामाजिक सञ्जालमार्फत आभार व्यक्त गरेका छन् ।
रिहाइका लागि आवाज उठाउने कानुन व्यवसायी, न्यायको पक्षमा वकालत गर्ने विभिन्न राजनीतिक दल, नेताहरू र सञ्चारकर्मीहरूप्रति आभार प्रकट गर्दै अध्यक्ष ओलीले परमादेश जारी गर्ने सम्मानित सर्वोच्च अदालतप्रति पनि उच्च सम्मान व्यक्त गरेका छन् ।
हिरासतमा रहँदा मानवीय व्यवहार गर्ने प्रहरी प्रशासन र स्वास्थ्योपचारमा संलग्न त्रिवि शिक्षण अस्पताल परिवारलाई समेत उनले धन्यवाद दिएका छन् ।
अध्यक्ष ओलीले प्रतिकूल स्वास्थ्य अवस्थाका कारण केही दिन अस्पतालमै रहेर थप उपचार गराउने भएका छन् । उनले यस कठिन घडीमा शुभेच्छा प्रकट गर्ने पार्टीका नेता, कार्यकर्ता तथा समस्त शुभचिन्तकमा धन्यवाद ज्ञापन गरेका छन् ।