काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले नागढुंगा सुरुङमार्गमा चल्ने सवारीसाधनको शुल्क सार्वजनिक गरेको छ । मन्त्रालयले बिहीबार राजपत्रमा सूचना जारी गरी नेपाल सरकार मन्त्रिपरिषद्ले सडक बोर्ड ऐन, २०५८ को दफा ६ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गरी नागढुंगा सुरुङमार्ग खण्डमा चल्ने सवारीसाधनबाट सुरुङमार्ग उपभोगबापत दस्तुर लिने निर्णयअनुसार दर सार्वजनिक गरेको जनाएको छ ।
मन्त्रिपरिषद्ले गत साउन २६ गते उक्त निर्णय गरेको र सोही आधारमा बिहीबार राजपत्रमा सूचना प्रकाशित गरी दर सार्वजनिक गरिएको हो । जसअनसुार कार, भ्यान, पिकअप ट्याक्टर, माइक्रो बस र अन्य हलुका सवारीसाधन काठमाडौं प्रवेश गर्दा ६५ रुपैयाँ र बाहिरिँदा ६० रुपैयाँ तोकिएको छ । यस्तै मिनी बस, मिनी टिपर÷ट्रकको प्रवेशका लागि एक सय १५ रुपैयाँ र बाहिरिँदा ८० रुपैयाँ तथा बस, ट्रक (सिङ्गल रियर एक्सल) प्रतिसवारीसाधन प्रवेश गर्दा दुई सय ६० रुपैयाँ र बाहिरिँदा दुई सय रुपैयाँ शुल्क तोकिएको छ ।
मल्टी एक्सल ट्रक÷सवारीसाधन तथा भारी उपकरणको हकमा प्रवेश गर्दा छ सय रुपैयाँ र बाहिरिँदा दुई सय ५० रुपैयाँ तोकिएको छ ।