काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणका विषयमा चासो देखाएका छन् । ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ र सो आयोजनाका प्रमुख कार्यकारी अधिकृत अरुण रजौरियासँग बिहीबार आफ्नै कार्यकक्षमा छलफल गर्दै उनले आयोजनाको निर्माणकार्य निश्चित समयसीमा तोकेर अगाडि बढाउनुपर्ने बताए ।
सभामुख अर्यालले भने, ‘यो राष्ट्रिय गौरवको परियोजना हो । यो केवल विद्युत् उत्पादनसँग मात्र सम्बन्धित छैन, पर्यटन, कृषि उत्पादनको बजारीकरण र रोजगारी प्रवद्र्धनसँग पनि प्रत्यक्ष जोडिएको समग्र राष्ट्रिय महत्वको विषय हो । त्यसैले जति ढिलाइ हुनु थियो, भयो, अब यसको निर्माण कार्यलाई गति दिन थप ढिलाइ गर्नु हुँदैन ।’ सभामुख अर्यालले आयोजनालाई पहिलो प्राथमिकतामा राखेर काम गर्न आयोजना प्रमुखको ध्यानाकर्षण गराए ।
त्यस्तै मन्त्रालयका सहसचिव रुद्रसिङ तमाङले आयोजना अघि बढाउन मन्त्रालयबाट सहयोगका लागि कुनै कसर बाँकी नराख्ने बताए । सांसद बोधनारायण श्रेष्ठले ठूला आयोजना निर्माणलाई विशेष प्राथमिकता दिनुले देशको समृद्धिका विषयमा सरकार कति गम्भीर छ भन्ने स्पष्ट भएको धारणा राखे । बुढीगण्डकी जलविद्युत् आयोजना एक हजार २०० मेगावाट क्षमताको जलायशयुक्त आयोजना हो । राष्ट्रिय गौरवको यो आयोजना गोरखा र धादिङको सिमानामा पर्छ ।