काठमाडौं । एनआईसी एसिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर बेच्ने भएको छ । बैंकका अनुसार बैंकको नाउँमा सूर्यज्योति लाइफमा रहेको संस्थापक समूहअन्तर्गतको दुई लाख कित्ता सेयर बिक्री गर्न गोप्य शिलबन्दी बोलपत्र आह्वान गरिएको हो ।
सेयर खरिद गर्न इच्छुक तथा योग्य जोकोही लगानीकर्ताहरूले बोलपत्र पेश गर्न सक्नेछन् । बोलपत्र पेश गर्ने समय चैत २६ गतेदेखि सुरु भई २०८३ वैशाख ३ गते कार्यालय समयभित्र समाप्त हुने बैंकले जानकारी दिएको छ । बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता एक सय ७५ रुपैयाँ तोकिएको छ । लगानीकर्ताले न्यूनतम पाँच हजार कित्ता आवेदन दिनुपर्ने छ भने अधिकतमका लागि कुनै सीमा तोकिएको छैन ।
बैंकका अनुसार इच्छुक लगानीकर्ताले बोलपत्र आवेदन फाराम एनआईसी एसिया क्यापिटल लिमिटेड, ट्रेड टावर नेपाल, थापाथली, काठमाडौं तथा एनआईसी एसिया बैंक लिमिटेडको कर्पोरेट कार्यालय र देशभरका प्रमुख शाखा कार्यालयहरूबाट प्राप्त तथा बुझाउन सक्नेछन् । बोलपत्र संकलन केन्द्रहरूमा काठमाडौंस्थित थापाथलीसहित विराटनगर, वीरगञ्ज, पोखरा, बुटवल, धनगढी र सुर्खेतका शाखा कार्यालयहरू रहेका छन् । यसमा बिक्री प्रवन्धकको काम एनआईसी एसिया क्यापिटल लिमिटेडले गर्ने बैंकले जानकारी दिएको छ ।