नवलपरासी (बर्दघाट सुस्तापश्चिम) । पश्चिम नवलपरासीको जिल्ला प्रशासन कार्यायलले बुधबारदेखि आफ्नै भवनबाट सेवा दिन सुरु गरेको छ । पुरानो भवनलाई भत्काएर सोही ठाउँमा नयाँ भवन तयार गरिएको प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले जानकारी दिए ।
तीन वर्षदेखि निर्माणाधीन प्रशासन कार्यालयले उद्योग वाणिज्य सङ्घ नवलपरासीको भवनबाट सेवा दिँदै आएको थियो । सुविधासम्पन्न तीनतले भवन सात करोड ८७ लाख ९२ हजारको लागतमा निर्माण सम्पन्न भएको हो ।
भवन निर्माणका लागि २०७९ साल चैतमा ठेक्का पाएको कम्पनीले २०८१ को पुस मसान्तसम्म काम सक्नुपर्ने थियो । तर विभिन्न कारणले ठेकेदारले काम सम्पन्न गर्न नसकेपछि चालु आर्थिक वर्षभित्र निर्माण सम्पन्न गर्नेगरी निर्णय भएपछि ठेकेदारले २०८२ चैत २६ गते औपचारिक रूपमा हस्तान्तरण गरेको प्रजिअ नेपालले बताए ।