काठमाडौं । नेपालले टेक्निकल इनोभेसन र सेल्सको क्षेत्रमा अन्तर्राष्ट्रिय मञ्चमा उल्लेखनीय सफलता हासिल गरेको छ । भारतको इन्दौरमा आयोजित दुई प्रतिष्ठित विश्वस्तरीय प्रतियोगितामा नेपाली पेसाकर्मीहरूले उत्कृष्ट प्रदर्शन गर्दै प्रतिष्ठित सम्मान प्राप्त गरेका छन् ।
विश्वकै प्रतिस्पर्धात्मक टेक्निकल इनोभेसन प्रतियोगिताका रुपमा परिचित इएमटेक २०२६ मा नेपालको टिम गुर्खाज विश्वविजेता बन्न सफल भएको छ । १२ देशका १२० टोलीसँग प्रतिस्पर्धा गर्दै टोलीले उत्कृष्ट प्राविधिक दक्षता र इनोभेसनको क्षमता प्रदर्शन गरी पहिलो स्थान हासिल गरेको हो । विजेता टोलीका सदस्यहरूमा सुजित कुमार दास, निरज कुमार मण्डल, बिक्रम सापकोटा र दामोदर भट्ट रहेका छन् । यस उपलब्धिले विश्व मञ्चमा नेपालको इन्जिनियरिङ तथा प्राविधिक उत्कृष्टताको बलियो उदाहरण प्रस्तुत गरेको छ ।
यसैगरी नेपालले भीईसीभी अन्तर्राष्ट्रिय सेल्स प्रतियोगिता प्रोफर्मर्स सिजन ११ मा पनि सफलता हात पारेको छ । २२ देशका तीन सय ५० भन्दा बढी पेसाकर्मीहरूमध्ये नेपालका शैलेन्द्र चन्दले बस विधामा विजयी हुँदै यस अत्यन्त प्रतिस्पर्धात्मक प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका हुन् । यी उपलब्धिहरूले व्यक्तिगत उत्कृष्टता मात्र नभई नेपालको सर्भिस म्यानपावर, उपकरण र सर्भिस डेलिभरीकोस्तर पनि अन्तर्राष्ट्रिय मापदण्ड अनुसार रहेको पुष्टि गरेका छन् । यस स्तरमा प्रतिस्पर्धा गर्दै सफलता हासिल गर्नुले टेक्निकल इनोभेसन र व्यावसायिक उत्कृष्टता दुवै क्षेत्रमा नेपाललाई उदाउँदो शक्तिको रूपमा स्थापित गरेको जनाइएको छ ।