काठमाडौं । कृषि विकास बैंक लिमिटेड र सम्सारा रेमिटबीच रेमिट्यान्स कारोबार साझेदारीसम्बन्धी सम्झौता सम्पन्न भएको छ । सम्झौतापत्रमा बैंकका उपमहाप्रबन्धक सुशील हुंमागाईं र सम्सारा रेमिटका कार्यकारी उपाध्यक्ष जीवनबाबु श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।
सम्झौता कार्यक्रममा बैंकका मार्केटिङ तथा सेल्स विभागका विभागीय प्रमुख बीना शर्मा, व्यवसाय अधिकृत मणिराज ढुंगाना तथा सम्सारा रेमिटका वित्तीय प्रमुख राजीव पोखरेल र वरिष्ठ शाखा प्रमुख आलोक जोशीको उपस्थिति रहेको थियो । सम्झौताअनुसार विदेशबाट पठाइने रेमिट्यान्स रकम अब कृषि विकास बैंकको देशव्यापी शाखा सञ्जालमार्फत दुर्गम तथा ग्रामीण क्षेत्रसम्म सहज रूपमा भुक्तानी गर्न सकिने छ । यसले रेमिट्यान्स सेवाको पहुँच विस्तार गर्नुका साथै सेवाग्राहीलाई छिटो, सुरक्षित र भरपर्दो सेवा उपलब्ध गराउने विश्वास गरिएको बैंकले जनाएको छ ।
बैंकका अनुसार रियल टाइम एपीआई प्रणालीमा आधारित सेवा तथा सम्सारा रेमिटको व्यापक एजेन्ट सञ्जालसँगको सहकार्यले ग्रामीण भेगका ग्राहकहरूलाई प्रत्यक्ष लाभ पुग्नेछ । यसबाट व्यवसाय विस्तार, कारोबार वृद्धि र आम्दानीमा सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ ।