काठमाडौँ । राजनीतिक, सामाजिक तथा पत्रकारिता क्षेत्रमा महत्वपूर्ण योग्दान पुर्याउने व्यक्तिहरुलाई सुडी समाज काठमाडौँले सम्मान गरेको छ ।
सुडी समाज काठमाडौँद्वारा सोमबार आयोजित नयाँ वर्ष २०८३ को शुभकामना आदानप्रदान, सम्मान तथा क्यालेण्डर विमोचन समारोहमा सुडी समुदायबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित व्यक्तित्वहरुलाई सम्मान गरिएको हो ।
सुडी समाज महासङ्घ नेपालका अध्यक्ष परमेश्वर महासेठ तथा समाजका पूर्वअध्यक्ष डा. अशोक महासेठ र प्राडा रामनन्दनप्रसाद चौधरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदद्वय दीपककुमार साह र रविन महतो तथा राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक शीतलप्रसाद महतोलाई संयुक्त रुपमा दोसल्ला ओढाएर सम्मान–पत्रद्वारा सम्मान गरका छन् ।
सो अवसरमा पूर्व श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री एवं सांसद दीपककुमार साहले मुलुकले अहिले आमूल परिवर्तन खोजेकाले आम नागरिकको भावनाअनुसारको परिवर्तनका लागि आफूहरू सदैव लागिरहने बताए । समाजको अग्रगामी रुपान्तरणका लागि नयाँ योजना एवं दृष्टिकोण आवश्यक रहेको तथा यसका लागि आफूले सक्दो सहयोग गर्ने उनले उल्लेख गरे। उक्त समारोहमा समाजद्वारा प्रकाशित नयाँ वर्ष–२०८३ को क्यालेण्डर विमोचन गरिएको थियो ।
समाजप्रति समर्पित भएर सुडी समुदाय र समाजको गरिमालाई उच्च राख्न सुडी समाजको भूमिका र समर्पण महत्पूर्ण रहेको उल्लेख गर्दै सांसद रविन महतोले सुडी समुदायबीच मैत्रीपूर्ण एवं पारस्परिक सम्बन्ध कायम गर्ने तथा सामाजिक, शैक्षिक, आर्थिक, स्वास्थ्यलगायत क्षेत्रको विकास, उन्नयन र सुडी समुदायको कल्याणका लागि समाज सक्रिय रुपमा लाग्नुपर्ने आवश्यकता औँल्याए ।