नेपालगञ्ज । नेपालगञ्ज उमहानगरपालिका–२ स्थित हनुमानगढीमा १४ करोड ४ लाख ६३ हजारको लागतमा १०८ फिट अग्लो हनुमानको मूर्ति निर्माण जारी रहेको उपमहानगरपालिकाका इन्जिनियर सुरज शर्माले जानकारी दिएका छन् ।
पहिलोपटक २०७९ चैत ३ गते निर्माण कम्पनीसँग सम्झौता भएको थियो । सुरुआताको अवधि २०८१ चैत २ गतेसम्म रहेकामा अहिले समयावधि थपेर २०८३ असोज ३० गतेसम्म लम्ब्याइएको छ ।
मूर्ति निर्माण गर्ने कालीगढ दिलवीर सुनार सेन्चुरीले हनुमान मन्दिरको निर्माण ९० प्रतिशत सम्पन्न भइसकेको उल्लेख गर्दै अबको डेढ महिनामा मूर्ति हस्तान्तरण गर्ने बताए ।
भारतको अयोध्यामा अत्याधुनिक राम मन्दिर बनेपछि राम र हनुमानको सम्बन्धलाई एकाकार गर्दै अयोध्यासँग नेपालगन्जलाई जोडने उद्देश्यका साथ हनुमानको मूर्ति निर्माण भइरहेको नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले जानकारी दिए ।
यस पवित्र स्थानमा भौतिक संरचनाको विकास भएकोमा खुसी व्यक्त गर्दै हनुमानगढीका थानापति महन्थ उमेश गिरीले त्रेता युगमा श्रीराम हनुमानजीको अनन्य भक्त भएर अधर्मको नाश गरेको बताए । ऋषिमुनिको आगमनपछि पाँच करोड गायत्री मन्त्रको जप भएको स्थानका रूपमा रहेकाले हनुमानगढीको महिमा झन बढेको महन्त गिरीको भनाइ छ ।
नेपालगञ्ज उपमहानगरपालिकाले निर्माण गरेको १०८ फिट अग्लो हनुमानको सो मूर्तिको फाउन्डेसन र प्लेटफर्मको काम सकिएपछि अहिले धमाधम मूर्ति निर्माणको काम भइरहेको छ । यस स्थानमा बर्सेनि हनुमान जयन्तीमा उत्सव हुने गर्छ ।