काठमाडौं । हिमालयन रि–इन्स्योरेन्स लिमिटेडको सञ्चालक समिति फेरबदल भएको छ । कम्पनीको यही बैशाख चार गते बसेको सञ्चालक समितिको बैठकले चार जना सञ्चालकको राजीनामा स्वीकृत गर्दै दुई जना नयाँ सञ्चालक नियुक्त गरेको हो ।
बैठकले सेयरधनी समूह ‘क’ का प्रतिनिधित्व गर्दै आएका अमित मोर, सेयरधनी समूह ‘ख’ को प्रतिनिधित्व गर्दै आएका राजीव मोर र शुभेच्छा खरेल र स्वतन्त्र सञ्चालक शुभाष कुमार झुनझुनवालाको राजीनामा स्वीकृत गरेको छ । यसबाहेक कम्पनीको सोही दिन बसेको सञ्चालक समितिको बैठकले सेयरधनी समूह ‘क’ अन्तर्गत (कालिका फिन्कोर्प प्रालि) को प्रतिनिधिको रूपमा दिपक कुमार मिश्र र स्वतन्त्र सञ्चालकको रूपमा आशिष चन्द्र न्यौपानेलाई आगामी वार्षिक साधारणसभा सम्मका लागि सञ्चालकको रूपमा नियुक्त गरेको छ ।
यसअघि गत फागुन २५ मा सञ्चालक समिति अध्यक्ष शेखर गोल्छाले राजीनामा दिएका थिए। चैत ५ मा उनको राजीनामा स्वीकृत भएको थियो। गोल्छाले सञ्चालकबाट पनि राजीनामा दिएका थिए भने उनीसँगै शाहिल अग्रवाल र रोहित गुप्ताले पनि राजीनामा दिएका थिए । उनीहरु तीन जनाको ठाउँमा उदय कुमार निरौला, दीपेन्द्र कुमार मिश्र र पृथ्वीराज थापा नियुक्त भइसकेका छन् ।