काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)ले बुक बिल्डिङ्गमार्फत सेयर निष्कासन गर्ने कम्पनीको अद्यावधिक सूची सार्वजनिक गरेको छ । बुधबार नेप्सेले बुक बिल्डिङ्ग निर्देशिका बमोजिम सेयर निष्कासनका लागि नेप्सेसँग सम्झौता गर्ने सातवटा कम्पनीहरूको सूची सार्वजनिक गरेको हो ।
नेप्सेका अनुसार यसअघि सार्वजनिक गरिएका पाँचवटा कम्पनीहरूको सूचीलाई अद्यावधिक गर्दै थप दुई कम्पनी समावेश गरी नयाँ सातवटा कम्पनीहरूको नामावली सार्वजनिक गरिएको हो । सो अनुसार सूचीकृत कम्पनीहरूमा यति ब्रुअरी लिमिटेड र नेपाल चिया विकास निगम लिमिटेड थपिएका छन् । यसअघि सूचीमा नर्भिक इन्टरनेसनल हस्पिटल एन्ड मेडिकल कलेज लिमिटेड, जगदम्बा स्पिनिङ्ग मिल्स लिमिटेड, टाइम फर्मास्युटिकल्स लिमिटेड, लक्ष्मी स्टील्स लिमिटेड र पूर्वाञ्चल ल्युव आयल लिमिटेड रहेका थिए । यी सबै कम्पनीहरूले बुक बिल्डिङ्ग विधिमार्फत सेयर निष्कासन प्रक्रिया अगाडि बढाउन सहकार्य गरेको नेप्सेको भनाइ छ । यस विधिअनुसार योग्य संस्थागत लगानीकर्ताका लागि छुट्याइएको सेयरको मूल्य निर्धारण गर्न शिलबन्दी बोलपत्र (बिडिङ) प्रक्रिया सञ्चालन गरिन्छ ।
बुक बिल्डिङ्ग प्रणालीमा ठूला संस्थागत लगानीकर्ताहरूले प्रारम्भिक रूपमा सेयरको मूल्य प्रस्ताव गर्ने व्यवस्था हुन्छ । ती प्रस्तावहरूको आधारमा अन्तिम सेयर मूल्य तय गरिने भएकाले बजार–आधारित मूल्य निर्धारण हुने अपेक्षा गरिएको छ ।