काठमाडौँ — नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले भूमिहीन तथा सुकुम्बासी समस्याको दीर्घकालीन समाधानका लागि सबै राजनीतिक दलबीच साझा धारणा रहेको बताएका छन्। कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सुकुम्बासी समस्यालाई सबै दलले आफ्ना घोषणापत्रमार्फत प्रतिबद्धताका रूपमा अघि सारेको उल्लेख गरे। चालिसेले समस्याको मूल समाधान प्रक्रियामा निहित रहेको भन्दै कानुनको शासन र ‘ड्यू प्रोसेस अफ ल’लाई स्वीकार गर्दै अघि बढ्नुपर्ने आवश्यकता औंल्याए। उनले यस विषयमा अदालतले पनि स्पष्ट व्याख्या गरिसकेको बताए। उनका अनुसार संसद् र अदालत दुवै तहमा यस विषयमा छलफल भइसकेको छ र अब व्यवहारिक समाधानतर्फ अघि बढ्नुपर्ने समय आएको छ। उनले कुनै पनि नागरिकलाई भूमिहीन अवस्थामा राख्न नहुने भन्दै यो विषय मौलिक अधिकारसँग जोडिएको बताए। चालिसेले वास्तविक सुकुम्बासीको पहिचान गरी उनीहरूलाई भूमि उपलब्ध गराउनु राज्यको दायित्व भएको उल्लेख गर्दै सरकारको जिम्मेवारी स्पष्ट हुनुपर्ने बताए। उनले कांग्रेस हरेक नागरिकलाई जमिन र आवास उपलब्ध गराउने पक्षमा दृढ रहेको पनि बताए। साथै, सरकारले अभिभावकीय भूमिकामा रहेर भूमिहीनहरूको व्यवस्थापन गर्नुपर्ने र दमन विकल्प नहुने उनको भनाइ छ।