काठमाडौं । बैंकिङ क्षेत्रमा गैरबैंकिङ सम्पत्तिको ग्राफ चुलिँदै गएको छ । नेपाल राष्ट्र बैंकको बैंकिङ क्षेत्रको समग्र वित्तीय अवस्थासम्बन्धी पछिल्लो प्रतिवेदनअनुसार चालू आर्थिक वर्षको फागुन मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरुमा ५१ अर्ब ३३ करोड रुपैयाँबराबरको गैरबैंकिङ सम्पत्ति देखिएको हो ।
उक्त सम्पत्ति २० वाणिज्य बैंक, १७ विकास बैंक र १७ फाइनान्सहरुको हो । यो सम्पत्ति गत आवको सोही अवधिको तुलनामा नौ अर्ब २७ करोड ३० लाख रुपैयाँले बढी हो । गत आवको सोही अवधिमा बैंकिङ क्षेत्रमा कुल ४२ अर्ब पाँच करोड ७० लाख रुपैयाँबराबरको गैरबैंकिङ सम्पत्ति देखिएको थियो । राष्ट्र बैंकका अनुसार चालू आवको पछिल्लो आठ महिनाको अवधिमा वाणिज्य बैंकहरूमा मात्र कुल ४३ अर्ब ४७ करोड ६० लाख रुपैयाँ बराबरको गैरबैंकिङ सम्पत्ति देखिएको छ । यो सम्पत्ति गत आवको सोही अवधिको तुलनामा सात अर्ब २६ करोड ६७ लाख रुपैयाँले बढी हो । गत आवको सोही अवधिमा वाणिज्य बैंकहरूमा कुल ३६ अर्ब २० करोड ९० लाख रुपैयाँबराबरको गैरबैंकिङ सम्पत्ति देखिएको थियो । विकास बैंकहरूमा पनि पछिल्लो अवधिमा कुल गैरबैंकिङ सम्पत्ति बढेर चार अर्ब ७२ करोड ५० लाख रुपैयाँ पुगेको छ । यो सम्पत्ति गत आवको सोही अवधिको तुलनामा एक अर्ब २२ करोड रुपैयाँले बढी हो । गत आवको सोही अवधिमा विकास बैंकहरूमा कुल तीन अर्ब ५० करोड ५० लाख रुपैयाँबराबरको गैरबैंकिङ सम्पत्ति देखिएको थियो ।
राष्ट्र बैंकका अनुसार फाइनान्स कम्पनीहरूमा मात्र भने चालू आवको पछिल्लो अवधिमा तीन अर्ब १२ करोड ९० लाख रुपैयाँबराबरको गैरबैंकिङ सम्पत्ति देखिएको छ । यो सम्पत्ति गत आवको सोही अवधिको तुलनामा ७८ करोड ५० लाख रुपैयाँले बढी हो । गत आवको सोही अवधिमा फाइनान्स कम्पनीहरूमा कुल दुई अर्ब ३४ करोड ४० लाख रुपैयाँबराबरको गैरबैंकिङ सम्पत्ति देखिएको थियो ।
वित्तीय जोखिम बढाउन सक्छ : अर्थविद् अधिकारी
काठमाडौं । बढ्दो गैरबैंकिङ सम्पत्तिले वित्तीय जोखिम बढाउने अर्थविद् डा. चन्द्रमणि अधिकारीले बताएका छन् । डा. अधिकारीका अनुसार यस्तो सम्पत्तिको वृद्धि बैंकिङ क्षेत्रको वित्तीय स्वास्थ्यको दृष्टिले राम्रो होइन । ‘बैंकहरूले ऋण असुली गर्न नसक्दा धितोका रूपमा लिएका घरजग्गा, उद्योग वा अन्य सम्पत्ति लामो समयसम्म थुप्रिनु गैरबैंकिङ सम्पत्तिको वृद्धि हो । यो अवस्था दीर्घकालीन रूपमा वित्तीय स्वास्थ्यका लागि हानिकारक हुन्छ’, उनले भने ।
गैरबैंकिङ सम्पत्ति बढ्नुको प्रमुख कारणमा कमजोर कर्जा मूल्याङ्कन, आर्थिक मन्दी र ऋणीको भुक्तानी क्षमतामा आएको गिरावट हो । यस्ता सम्पत्ति निष्क्रिय हुने भएकाले बैंकको आम्दानी घटाउने र पुँजी पर्याप्ततामा दबाब सिर्जना गर्ने उनको भनाइ छ ।
‘बैंकहरूले सम्पत्ति निष्क्रिय राखेर बस्नुभन्दा उत्पादनशील क्षेत्रमा लगानी गर्नुपर्छ । गैरबैंकिङ सम्पत्ति धेरै हुँदा तरलता व्यवस्थापनमा समस्या आउनुका साथै नयाँ कर्जा प्रवाहमा पनि अवरोध पैदा हुन्छ’, डा. अधिकारीले भने, ‘यदि समयमै नियन्त्रण गरिएन भने यसले समग्र अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्न सक्छ ।’ नियामक निकायले कर्जा व्यवस्थापनमा कडाइ गर्नुपर्ने र बैंकहरूले जोखिम मूल्याङ्कन प्रणाली सुधार गर्नुपर्ने आवश्यकता औँल्याए ।
अर्थविद् डा. अधिकारीका अनुसार बैंकिङ क्षेत्रमा गैरबैंकिङ सम्पत्ति बढ्नु भनेको स्थायी मुद्रास्फीतिको संकेत पनि हो । अहिले सबैजसो वस्तु तथा सेवाको मूल्य लगातार बढ्दै गएको र आर्थिक वृदिद्धर खुम्चिँदै गएको भन्दै यो अवस्था कदापि राम्रो नभएको उनी बताउँछन् ।