दोलखा । जिल्लाको मेलुङ गाउँपालिकाले ५० प्रतिशत अनुदानमा किसानलाई हाते ट्याक्टर वितरण गरेको छ । गाउँपालिकाको वडा नम्बर ६ मा रहेका २८ जना किसानलाई सोमबार एक कार्यक्रमका बीच ट्याक्टर वितरण गरिएको हो ।
चालू आर्थिक वर्षको खेती प्रवर्द्धन कार्यक्रमअन्तर्गत कृषकलाई हाते ट्याक्टर वितरण गरिएको वडाअध्यक्ष कुसुम लामाले जानकारी दिए । उनका अनुसार वडाले खेती प्रवद्र्धन कार्यक्रमअन्तर्गत पाँच लाख रुपैयाँ बजेट छुट्याएको थियो । वडाभित्र कृषिकर्ममा सक्रिय कृषकलाई परम्परागतबाट आधुनिकीकरण गर्दै कृषकको लागत घटाउन र उत्पादन बढाउन हाते ट्याक्टर (मिनिटेलर हलो) वितरण गरिएको उनले बताए । यहाँका देविथान, हिले तामाङ गाउँ, हिले थापागाउँ, तीनपिल्ले लगायतका बस्तीका कृषकलाई ट्याक्टर वितरण गरिएको हो । वडा कार्यालयले कृषकका माग र आवश्यकतालाई मध्यनजर अनुदानमा हाते ट्याक्टर उपलब्ध गराएको वडाध्यक्ष लामाले बताए ।
पछिल्ला दिनहरूमा गाउँघरमा गोरु पाल्ने चलन हराएर जान थालेको छ । खेतबारी जोत्न समस्या भएको अवस्थामा वडा कार्यालयले अनुदानमा हाते ट्याक्टर दिएपछि राहत मिलेको स्थानीय कृषकहरू बताउँछन् । ‘गोरु पाल्नै छाडे, हलो जुवा बनाउने सीप पनि हराएर जान थालेको छ, महिलाहरूले समेत जोत्न मिल्ने भएकाले हाते ट्याक्टर उपयोगी छ, हिउँदे र बर्खे खेती लगाउन हाते ट्याक्टरबाट सहज भएको छ’, स्थानीय कृषकले भने । मेलुङमा मात्र नभएर पछिल्लो समय जिल्लाभर खेती गर्नको लागि गोरु पाल्ने चलन हराउन थालेको छ । हाल गोरुले खेतबारी जोत्ने चलन फाट्टफुट्ट मात्रै देखिन्छ । किसानले खेतबारी जोत्नको लागि ट्याक्टरलगायतका यान्त्रिक उपकरणको प्रयोग गर्ने गरेका छन् । ट्याक्टरले छोटो समयमा धेरै खेतबारी जोत्न सकिने भएकाले समयको बचत हुने र गोरु पाल्नुपर्ने झन्झट नहुने कृषकहरूको भनाइ रहेको छ ।