मध्यविन्दु (नवलपरासी) । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को मध्यबिन्दु नगरपालिका–७ हरियाली जङ्गल क्षेत्रमा मंगलबार दुम्किबासबाट कावासोतीतर्फ आउँदै गरेको ट्रक र र विपरित दशाबाट आएको कार ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
लु१ख ९५८० नम्बरको चामल बोकेको ट्रक र विपरीत दिशाबाट जाँदै गरेको ग.प्र.०१–००१ च ०४७४ नम्बरको कार ठोक्किएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रहरी उपरीक्षक युवराज खड्काले बताए ।
दुर्घटनामा अन्दाजी ३५ वर्षीय कार चालक पुरुषको टाउकोमा गम्भीर चोट लागेको अवस्थामा ट्रक चालकले नै उपचारका लागि मध्यबिन्दु प्रादेशिक अस्पताल पुर्याएकामा उपचारकै क्रममा उनको मृत्यु भएको चिकित्सकले जानकारी दिए । प्रहरी उपरीक्षक खड्काले मृतकको नाम, थर भने खुल्न नसकेको बताएका छन् ।
प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको र दुर्घटनामा संलग्न दुवै सवारीसाधन घटनास्थलमै रहेको जनाएको छ ।