काठमाडौं । पश्चिम एसियाको द्वन्द्व अन्त्य नभए नेपालको आर्थिक वृद्धि थप कमजोर हुने अनुमान गरिएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले मंगलबार आयोजना गरेको आर्थिक वर्ष २०८२/०८३ मा कुल गार्हस्थ्य उत्पादन वृद्धिदरको प्रारम्भिक अनुमान सार्वजनिक कार्यक्रममा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रामशरण खरेलले भने, ‘बजेट सार्वजनिक गर्दा चालू आर्थिक वर्ष २०८२/०८३ को नेपालको आर्थिक वृद्धिदर ६ प्रतिशत हाराहारी हुने प्रक्षेपण गरिएको थियो । अहिले ३ दशमलव ८५ प्रतिशत हुने अनुमान छ । पश्चिम एसियाको युद्ध तत्काल अन्त्य भएन भने नेपालको आर्थिक वृद्धिदर अहिले गरिएको अनुमानभन्दा पनि घट्नेछ ।’
पश्चिम एसियाली मुलुक इरानमाथि अमेरिका र इजरायलले आक्रमण र इरानले प्रत्याकर्मण गर्दा पेट्रोलियम पदार्थको उत्पादनमा क्षति र वितरणमा अवरोध भएको कारण यो क्षेत्रका अधिकांश राष्ट्रहरूमा मूल्यवृद्धि भएको छ । जुन मूल्यवृद्धि नेपालका आम सर्वसाधारणले थेग्नै नसक्ने अवस्था छ । यो युद्धको असर विश्वका अन्य मुलुकमा पनि छ ।
इरानमा जारी युद्धको कारण नेपालमा पेट्रोलको मूल्य करिब ४१ प्रतिशतले वृद्धि भएको छ भने डिजेल/मट्टितेलको मूल्य ६७ प्रतिशतले वृद्धि भएको छ । युद्ध निरन्तर भयो भने यो मूल्यवृद्धि अझै उच्च हुनेछ । त्यसले नेपालको अर्थतन्त्रमा सिधा नकारात्मक असर पर्नेछ । किनकि नेपाल शतप्रतिशत पेट्रोलियम पदार्थ आयात गर्ने मुलुक हो । अहिले नै युद्ध अन्त्य हुने हो भने मात्र यो ३ दशमलव ८५ प्रतिशतको आर्थिक वृद्धि कायम रहनेछ । युद्ध अन्त्य भएको घोषणा नगरिए आर्थिक अवस्था थप कमजोर बन्नेमा कुनै शंका छैन । यस्तै, राष्ट्र बैंकले चालू आवको आर्थिक वृद्धिदर ३ दशमलव ८५ प्रतिशत कायम हुनका लागि पश्चिम एसियाको युद्ध अन्त्यसँगै सरकारले थालेको सुशासनलाई पनि सँगै राखेको छ । ‘सरकारले सुशासनका लागि थालेका सबै कामले निरन्तरता पनि पाउनुपर्छ’, खरेलले भने ।
नेपाल राष्ट्र बैंक र राष्ट्रिय तथ्यांक कार्यालयले गरेको देशको आर्थिक वृद्धिको अनुमान करिब नजिक रहेको कारण दुबै निकायले देशको अर्थतन्त्रको अध्ययन यथार्थपरक रूपमा गरेको देखिएको छ ।
चालू आर्थिक वर्षको बजेटमा छ प्रतिशतको आर्थिक वृद्धिदर हुने अनुमान गरिए पनि सुरुमा भएको मौसम प्रतिकूलताको कारण धान उत्पादन घटेर आर्थिक वृद्धिदर एक प्रतिशत कम हुने अनुमान सरकारी अधिकारीहरूको थियो । त्यसपछि भदौ २३ र २४ गतेको जेनजी नाममा भएको हिंसात्मक घटनाले झण्डै ८४ अर्ब रुपैयाँ क्षति पुगेको थियो भने शान्ति सुरक्षा पुनःस्थापना हुने आशंकामा लगानी गर्नेहरू हच्किएको कारण व्यावसायिक वातावरण बन्न सकेन । त्यसले पनि आर्थिक वृद्धिदर कम हुने गएको हो । यही बेला इरानमाथि अमेरिकी र इजरायली आक्रमणले यो क्षेत्रको साथै नेपालको अर्थतन्त्रमा सिधा नराकारात्मक असर पर्दा आर्थिक वृद्धिदर ३ दशमलव ८५ प्रतिशतमा सीमित रहने अनुमान गरिएको हो । तर यो वृद्धि पनि कायम नहुने विश्व बैंक, एसिायली विकास बैंक र आईएमएफको प्रक्षेपण छ ।
कार्यक्रममा प्रमुख तथ्यांक अधिकारी डा. कमल प्रसाद पोखरेलले नेपाल राष्ट्र बैंक र तथ्यांक कार्यालयले गरेको अध्ययनले देशको आर्थिक वृद्धिदर करिब समान देखिनुले यथार्थपरक रहेको जिकिर गरे । विश्व बैंक, एसिायली विकास बैंक र आईएमएफको प्रक्षेपणमा प्रयोग भएको अध्ययनका तथ्यांक र तौरतरिका र नेपालको तरिका फरक हुने भन्दै तथ्यांक कार्यालय र राष्ट्र बैंकको अनुमान सही हुने दाबी गरे ।
कार्यक्रममा अमेरिकी डलरसँग नेपाली रुपैयाँको विनमिय दर घट्दा प्रतिव्यक्ति आम्दानी अघिल्लो वर्षको जस्तै स्थिर रहेको समेत जिकिर गरिएको छ । चालू आर्थिक वर्ष २०८२/८३ मा प्रतिव्यक्ति आम्दानी एक हजार पाँच सय ३५ अमेरिकी डलर हुने प्रारम्भिक अनुमान गरिएको छ । जुन प्रतिव्यक्ति आम्दानी आर्थिक वर्ष २०८१/८२ को बराबर हो । चालू आर्थिक वर्षको लागि अमेरिकी डलर एकको विनिमय दर औसत एक सय ४४ रुपैयाँ राख्दा प्रतिव्यक्ति आम्दानी एक हजार पाँच सय ३५ अमेरिकी डलर पुगेको राष्ट्रिय तथ्यांक कार्यालयले जनाएको छ ।
आर्थिक वर्ष २०८१/८२ मा अमेरिकी डलर एकको विनिमय दर एक सय ३६ रुपैयाँ रहेको थियो भने हाल एक सय ४४ हुँदा पनि प्रतिव्यक्ति आम्दानी भने एक हजार पाँच सय ३५ नै रहेको तथ्यांक कार्यालयले जनाएको छ ।
वार्षिक राष्ट्रिय लेखा तथ्यांकअनुरूप कुल गार्हस्थ्य उत्पादन (जीडीपी) र आर्थिक वृद्धिदरमा बढ्ने बताइएको छ । चालू आर्थिक वर्षको लागि जीडीपीको आकार करिब चार खर्बले बढ्ने अनुमान गरिएको छ । आर्थिक वर्ष २०८२/८३ मा नेपालको अर्थतन्त्रको आकार ६६ खर्ब पुग्ने प्रारम्भिक अनुमान गरिएको हो । आर्थिक वर्ष २०८१/८२ मा अर्थतन्त्रको आकार ६१ खर्ब ९९ अर्ब रहेको संशोधित अनुमान तथा आर्थिक वर्ष २०८०/८१ मा अर्थतन्त्रको आकार ५७ खर्ब ६० अर्ब रहेको विवरण सार्वजनिक गरिएको थियो ।
आर्थिक वर्ष २०८२/८३ मा आर्थिक वृद्धिदर आधारभूत मूल्य तीन दशमलव ६८ प्रतिशत हुने अनुमान गरिएको छ । आर्थिक वृद्धिदर उपभोक्ताको मूल्यमा भने तीन दशमलव ८५ प्रतिशत हुने प्रारम्भिक अनुमान रहेको छ । आधारभूत मूल्यको आर्थिक वृद्धिदर आर्थिक वर्ष २०८१/८२ मा तीन दशमलव ८० प्रतिशत हुने संशोधित अनुमान र आर्थिक वर्ष २०८०/८१ मा तीन दशमलव ३८ प्रतिशत कायम भएको विवरण सार्वजनिक गरिएको थियो । जेनजी आन्दोलन र युद्धका बीच पनि अर्थतन्त्रको आकार र आर्थिक वृद्धिदर बढ्नु सकारात्मक भएको राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. प्रकाश कुमार श्रेष्ठले बताए ।
‘जेनजी आन्दोलनका कारण मुलुकको अर्थतन्त्र प्रभावित हुने आंकलन गरिएको थियो, अर्कोतर्फ पश्चिम एसियाको द्वन्द्वले समेत असर गरेको देखिन्छ’, उनले भने, ‘यस्तो अवस्थामा आर्थिक वृद्धिदर तीन प्रतिशतभन्दा माथि हुनु राम्रो तथा सन्तोषजनक हो । यो भनेको आन्दोलनपछि बनेको सरकारले काम गरेको देखिन्छ ।’ आर्थिक विकास नहुनुमा हाम्रो सबैभन्दा ठूलो कमजोर सुशासन रहेको छ, यदि सुशासन कायम गर्न सक्यौँ भने हाम्रा विकास खर्च बढ्ने सार्वजनिक ऋणको उपयोग बढ्ने र निजी क्षेत्र चलयमान हुने हुँदा अर्थतन्त्र अघि बढ्नेछ’, पूर्वउपाध्यक्ष श्रेष्ठले भने ।
अर्थतन्त्र सबैभन्दा बढी योगदान भने कृषि तथा गैरकृषि क्षेत्रको रहेको बताइएको छ । आर्थिक वर्ष २०८२/८३ मा कृषि क्षेत्रको एक दशमलव ५८ प्रतिशत र गैरकृषि क्षेत्रको चार दशमलव ५४ प्रतिशत वृद्धिदर हुने प्रारम्भिक अनुमान रहेको छ । आर्थिक वर्ष २०८१/८२ मा कृषि क्षेत्रको वृद्धिदर तीन प्रतिशत तथा गैरकृषि क्षेत्रको वृद्धिदर चार दशमलव १२ प्रतिशत रहने संशोधित अनुमान गरिएको छ । त्यसैगरी, आर्थिक वर्ष २०८०/८१ मा कृषि क्षेत्रको वृद्धिदर तीन दशमलव १० प्रतिशत तथा गैरकृषि क्षेत्रको वृद्धिदर तीन दशमलव ४९ प्रतिशत कायम भएको छ ।
वार्षिक राष्ट्रिय लेखा तथ्यांकअनुसार समग्र औद्योगिक क्षेत्रलाई प्राथमिक क्षेत्र, द्वितीय क्षेत्र ( र सेवा क्षेत्र गरी प्रमुख तीन समूहमा विभाजन गरिएको छ । आर्थिक वर्ष २०८२/८३ मा प्राथमिक, द्वितीय तथा सेवा क्षेत्रको वृद्धिदर क्रमशः एक दशमलव ६३ प्रतिशत, पाँच दशमलव ७७ प्रतिशत र चार दशमलव २१ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ । संशोधित विवरणअनुसार आर्थिक वर्ष २०८१/८२ मा प्राथमिक, द्वितीय तथा सेवा क्षेत्रको वृद्धिदर क्रमशः तीन प्रतिशत, तीन दशमलव ४० प्रतिशत र चार दशमलव ३६ प्रतिशत रहको छ । आर्थिक वर्ष २०८०/८१ मा प्राथमिक, द्वितीय तथा सेवा क्षेत्रको वृद्धिदर क्रमशः तीन दशमलव ११ प्रतिशत, शून्य दशमलव शून्य छ प्रतिशत र चार दशमलव ४९ प्रतिशत कायम भएको थियो ।
प्रतिव्यक्ति आम्दानी खुम्चिँदा प्रतिव्यक्ति खर्च भने बढेको छ । कार्यालयका अनुसार आर्थिक वर्ष २०८२/८३ मा प्रतिव्यक्ति कुल राष्ट्रिय खर्चयोग्य आम्दानी दुई हजार ४४ अमेरिकी डलर हुने प्रारम्भिक अनुमान गरिएको छ । आर्थिक वर्ष २०८१/८२ मा प्रतिव्यक्ति कुल राष्ट्रिय खर्चयोग्य आम्दानी एक हजार नौ सय ९४ अमेरिकी डलर रहने संशोधित अनुमान गरिएको छ । आर्थिक वर्ष २०८०/८१ को तथ्यांकअनुसार उक्त वर्षमा प्रतिव्यक्ति कुल राष्ट्रिय खर्चयोग्य आम्दानी एक हजार आठ सय ७७ अमेरिकी डलर कायम भएको हो । डलरको सटहीदरमा भएको उच्च वृद्धि भए पनि प्रतिव्यक्ति कुल राष्ट्रिय खर्चयोग्य आय क्रमशः बढ्नुको कारण विप्रेषणको उच्च प्राप्ति भएको अनुमान गरिएको छ । आर्थिक वर्ष २०८२/८३ मा ३३ प्रतिशत विप्रेषण प्राप्त हुने प्रारम्भिक अनुमान गरिएको छ । आर्थिक वर्ष २०८१/८२ मा २७ दशमलव ८० प्रतिशत विप्रेषण प्राप्त संशोधित अनुमान गरिएको हो । आर्थिक वर्ष २०८०/८१ को तथ्यांकअनुसार उक्त वर्षमा २५ प्रतिशत विप्रेषण प्राप्त भएको थियो ।
प्रत्वियक्ति खर्च , विप्रषेणमा वृद्धि हुँदा कुल उत्पादनमा समेत वृद्धि भएको छ । कार्यालयका अनुसार आर्थिक वर्ष २०८२/८३ मा आधारभूत मूल्यको कुल उत्पादन ९९ खर्ब २२ अर्ब ९० करोड हुने प्रारम्भिक अनुमान गरिएको छ। आर्थिक वर्ष २०८१/८२ मा कुल उत्पादन ९३ खर्ब ८४ अर्ब ५० करोड रहने संशोधित अनुमान गरिएको हो । आर्थिक वर्ष २०८०/८१ को तथ्यांकअनुसार उक्त वर्षमा कुल उत्पादन ८७ खर्ब ८१ अर्ब दुई करोड कायम भएको थियो ।
कार्यालयका अनुसार आर्थिक वर्ष २०८२/८३ मा उपभोक्ताको मूल्यको मध्यवर्ती उपभोग ४१ खर्ब २७ अर्ब ३२ करोड हुने प्रारम्भिक अनुमान गरिएको छ। आर्थिक वर्ष २०८१/८२ मा मध्यवर्ती उपभोग ३९ खर्ब ३० अर्ब ९ करोड रहने संशोधित अनुमान गरिएको हो । आर्थिक वर्ष २०८२/८३ मा २६ दशमलव २६ प्रतिशत कुल स्थिर पुँजी निर्माण हुने प्रारम्भिक अनुमान गरिएको छ । आर्थिक वर्ष २०८१/८२ मा २३ दशमलव ५७ प्रतिशत कुल स्थिर पुँजी निर्माण हुने संशोधित अनुमान गरिएको हो । त्यस्तै वस्तु तथा सेवा अयात निर्यातको हकमा भने आर्थिक वर्ष २०८२/८३ मा नौ दशमलव ९७ प्रतिशत निर्यात हुने प्रारम्भिक अनुमान गरिएको छ । आर्थिक वर्ष २०८१/८२ मा आठ ८३ प्रतिशत निर्यात हुने संशोधित अनुमान गरिएको हो । आयातको हका भने आर्थिक वर्ष २०८२/८३ मा ३४ दशमलव ५२ प्रतिशत आयात हुने प्रारम्भिक अनुमान गरिएको छ। आर्थिक वर्ष २०८१/८२ मा ३३ दशमलव ७२ प्रतिशत आयात हुने संशोधित अनुमान गरिएको थियो ।