काठमाडौं । नेपाल बैंक र राष्ट्रिय बीमा कम्पनीबीच सहकार्य भएको छ । दुवै निकायबीच कर्जा कारोबार गर्ने गराउने सम्बन्धमा सम्झौता भएको हो । उक्त सम्झौताबमोजिम राष्ट्रिय बीमा कम्पनी लिमिटेडमा कार्यरत स्थायी कर्मचारीहरूले नेपाल बैंकको काठमाडौं बैंकिङ अफिस शाखाबाट व्यक्तिगत आवश्यकता पूरा गर्नका लागी १५ लाख रुपैयाँसम्म विना धितो सेवाग्राही कर्जा उपभोग गर्न सक्नेछन् ।
यसबाट राष्ट्रिय बीमा कम्पनी लिमिटडमा कार्यरत स्थायी कर्मचारीहरूले एकै थलोबाट वित्तीय आवश्यक्ता पूर्ति गर्न सक्ने, समय बचत हुने तथा नेपाल बैंक लि. र राष्ट्रिय बीमा कम्पनी लिमिटडबीचको संस्थागत सहकार्य अझ सुदृढ हुने अपेक्षा गरिएको छ । सम्झौतामा नेपाल बैंकको तर्फबाट रिटेल कर्जा प्रमुख अर्जुन बहादुर कंडेल र राष्ट्रिय बीमा कम्पनीको तर्फबाट मुख्य व्यवस्थापक डा. सृजना पन्तले हस्ताक्षर गरेकी हुन् ।
नेपालभर दुई सय ३१ वटा शाखाहरु, दुई सय ४६ वटा एटीएमका साथै ६१ एक्सटेन्सन काउन्टरमार्फत करिब २७ लाख ग्राहकहरुलाई वित्तीय सेवा पुर्याइरहेको यो बैंक हाल ग्राहक सेवामा व्यापक सुधार गरी आधुनिक बैंकिङ प्रविधिमार्फत बैंकिङ सेवा पुर्याइ प्रतिस्पर्धीरुपमा अगाडि बढिरहेको छ । बैंकले छिटोछरितो र गुणस्तरीय ग्राहक सेवामा जोड दिई युवा जनशक्तिमार्फत नेपालभर बैंकिङ सेवा प्रदान गरिरहेको छ । दक्ष व्यवस्थापन, युवा कर्मचारी र आधुनिक प्रविधिको समुचित प्रयोग भएसंगै आम नेपालीमा नेपालको पहिलो बैंक नेपाल बैंकप्रतिको आकर्षण दिन प्रतिदिन बढ्दै गएको छ ।