काठमाडौं । नेपाल चिकित्सक संघ (एनएमए) को नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा डा. बद्री रिजाल अध्यक्ष पदमा निर्वाचित भएका छन् । डा. रिजालले आफ्ना निकटतम प्रतिस्पर्धी डा. मंगल रावललाई २५६ मतान्तरले पराजित गर्दै विजयी भएका हुन् । रिजालले ३,१९६ मत प्राप्त गर्दा रावलले २,९४० मत ल्याएका छन् । अर्का उम्मेदवार डा. नारायण प्रसाद भुसालले ८६९ मत प्राप्त गरेका छन् । निर्वाचन परिणामअनुसार नयाँ कार्यसमितिमा रिजाल प्यानलको स्वष्ट वर्चस्व देखिएको छ । पदाधिकारीदेखि सदस्यसम्मका अधिकांश पदमा सोही समूहका उम्मेदवार विजयी भएका छन् । वरिष्ठ उपाध्यक्षमा डा. सञ्जीव तिवारी(३०३६ मत) महासचिवमा डा. विश्वराज दवाडी (२७२२ मत) कोषाध्यक्षमा डा. संयुक्त आचार्य (३१८६मत) सह सचिवमा डा. हुलास अग्रवाल (३५१० मत) र सह–कोषाध्यक्षमा डा. तेजसु सिंह मल्ल (३२७९) मत लिएर निर्वाचित भएका छन् । प्रदेश संयोजक (उपाध्यक्ष) तर्फ कोशीमा डा. रोशन खड्का, मधेशमा डा. अमित रञ्जन मिश्र, बागमतीमा डा. सुवास भट्टराई, गण्डकीमा डा. यज्ञ राज सिग्देल, लुम्बिनीमा डा. नन्दा कुमारी गुरुङ, कर्णालीमा डा. रबिन खड्का र सुदूरपश्चिममा डा. प्रमोद जोशी विजयी भएका छन् । केन्द्रीय सदस्यमा डा. अमित झा, डा. राकेश शाह, डा. पालपासा श्रेष्ठ, डा. बिना श्रेष्ठ, डा. सुस्मित काफ्ले र डा. शेषराज घिमिरे निर्वाचित भएका छन् । त्यसैगरी सदस्यपदमा डा. अरुण उप्रेदी, डा. सुमेध मिश्र, डा. हिमलाल भण्डारी, डा. आरती शाह, डा. निरजन तामाङ, डा. जीवन क्षेत्री, डा. विजय कुमार शाह, डा. जेवना अन्सारी, डा. भवानी शिल्पकार विजयी भएका छन् । नयाँ नेतृत्व चयनसँगै चिकित्सक संघको आगामी कार्यदिशा र स्वास्थ्य क्षेत्र सुधारका एजेन्डा थप प्रभावकारी रुपमा अघि बढ्ने अपेक्षा गरिएको छ ।