कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा बहुप्राविधिक शिक्षालयमा निर्धारित कोटाभन्दा कम विद्यार्थी भर्ना भएका छन् । शुक्लाफाँटा नगरपालिका–१० अमरपुरस्थित प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)द्वारा सञ्चालित शिक्षालयमा न्यून शुल्कमा घरदैलोमै प्राविधिक शिक्षा पाउने व्यवस्था भए पनि विद्यार्थीको अभाव छ ।
शिक्षालयमा डिप्लोमा इन फार्मेसी, सिभिल इन्जिनियरिङ, मेकानिकल इन्जिनियरिङ र अटोमोबाइलसम्बन्धी पठनपाठनको सुविधा छ । तीमध्ये अटोमोबाइल विषयमा हाल एउटा विद्यार्थी भर्ना भएका छैनन् । विद्यार्थी नै पढ्न नआएपछि अटोमोबाइलको पढाइ नै बन्द भएको छ ।
मेकानिकल इन्जिनियरिङतर्फ २४ जनाको कोटा भए पनि तीनै वर्षमा गरी जम्मा १५ विद्यार्थीमात्र अध्ययनरत छन् । विद्यार्थीको संख्या बर्सेनि घट्दो क्रममा रहेको शिक्षालयको तथ्याङ्कले देखाउँछ । डिप्लोमा इन फार्मेसीमा ४० जनाको कोटा भए पनि पहिलो वर्ष ४० विद्यार्थीमात्रै भर्ना भएका छन् भने सिभिल इन्जिनियरिङको ४८ जनाको कोटामा पहिलो वर्ष १८ विद्यार्थी पढ्दै छन् । एसईई उत्तीर्ण गरेपछि धेरैजसो विद्यार्थी अध्ययन गर्न विदेश जाने गरेका छन् । देशभरका अन्य शिक्षालयतर्फ आकर्षित भएकाले स्थानीयस्तरका शिक्षालयमा विद्यार्थी अभाव देखिएको फार्मेसी कार्यक्रमका संयोजक ललितमोहन कलौनीले बताए ।
उनका अनुसार शिक्षालयले केही लक्षित वर्गका र जेहन्दार विद्यार्थीलाई आवासीय सुविधासहित पूर्ण रूपमा निःशुल्क पढाउने र यातायात खर्चसमेत दिने व्यवस्था गरे पनि विद्यार्थीको आकर्षण बढ्न सकेको छैन । शिक्षालयमा विद्यार्थीको अभावमात्र होइन, भौतिक पूर्वाधारको अवस्था पनि दयनीय छ । निमित्त शिक्षालय प्रमुख अञ्जन सापकोटाका अनुसार हाल शिक्षालयमा ११ कोठा भएको एउटामात्र भवन उपलब्ध छ । पर्याप्त कोठा नहुँदा एउटै कोठामा पुस्तकालय, कार्यकक्ष र कम्प्युटर ल्याब सञ्चालन गर्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ । छुट्टाछुट्टै कोठा नहुँदा प्रयोगशाला, स्टाफ रुम र कार्यालय कक्षलाई व्यवस्थित गर्न सकिएको छैन भने शिक्षालयमा छात्रवास, क्यान्टिन, साइकल स्ट्यान्ड र घेर पर्खालको समेत अभाव छ । त्यस्तै, सनवोरा नदीले शिक्षालयको जग्गा कटान गरिरहेको छ । त्यसको पनि रोकथाम हुन नसकेको प्रमुख सापकोटाले बताए ।