काठमाडौं । सरकारले मूल्य समायोजन गर्नलगायतका आफ्ना माग पूरा नगरेपछि नेपाल निर्माण व्यवसायी महासंघले आन्दोलन घोषणा गरेको छ ।
मध्यपूर्वमा जारी युद्धका कारण इन्धन, निर्माण सामग्रीहरू, ढुवानी तथा श्रमिक लागतमा पटक–पटक भइरहेको अत्यधिक एवं अप्रत्याशित मूल्यवृद्धिको समस्या समस्या सम्बोधन गर्न महासंघले सरकारलाई आग्रह गरेको थियो । तर माग सम्बोधन गर्न सरकार तयार नभएपछि आन्दोलनमा उत्रिन परेको महासंघको भनाइ छ । महासंघले बिहीबार सडक तथा ऊर्जा, जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशकहरूलाई ज्ञापनपत्र बुझाउँदै सम्बन्धित विभागमा धर्ना समेत दिने भएको छ । आन्दोलनकै कार्यक्रम अनुसार शुक्रबार र आगामी सोमबार सहरी विकास तथा भवन निर्माण र खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशको कार्यालयमा ज्ञापनपत्र बुझाइ आधा घण्टा धर्ना दिइने महासंघका महासचिव शिवहरि घिमिरेले जानकारी दिए ।
महासचिव घिमिरेका अनुसार महासंघमा आबद्ध ७७ वटै जिल्ला निर्माण व्यवसायी संघले बिहीबार नै प्रमुख जिल्ला अधिकारीसमक्ष जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाई आधा घण्टा धर्ना दिनेछन् । जिल्ला संघहरूले शुक्रबार र आगामी सोमबार जिल्लास्थित पूर्वाधार विकास कार्यालय, डिभिजन सडक कार्यालय, सहरी विकास तथा भवन र सिँचाइ कार्यालयहरूमा ज्ञापनपत्र बुझाई आधा घण्टा धर्ना दिनेछन् । विरोधकै कार्यक्रमअन्तर्गत सात प्रदेश निर्माण व्यवसायी महासंघले शुक्रबार मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै मुख्यमन्त्री कार्यालयमा आधा घण्टा धर्ना दिने महासंघका नीतिगत उपमहासचिव एवं प्रवक्ता मंगलबहादुर शाहीले बताए ।