काठमाडौं । सर्वोच्च अदालतले नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योति पाण्डेलाई थुनामुक्त गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । न्यायाधीशद्वय सारंगा सुवेदी र शान्तिसिंह थापाको इजलासले कुनै एक वरिष्ठ अधिवक्ताको रोहवरमा उनलाई हाजिरी जमानीमा छाडी अनुसन्धान गर्न आदेश दिएको हो ।
सर्वोच्च अदालतको आदेशअनुसार प्रमुख कार्यकारी पाण्डेलाई देश छाडेर जानुपर्ने अवस्था आएमा अदालतबाट अनुमति लिनुपर्नेछ । उनलाई हिरासतमा राखेर अनुसन्धान गर्नुपर्नेसम्मको अवस्था नदेखिएको भन्दै अदालतले बन्दी प्रत्यक्षीकरणको आदेश जारी गरेको हो । स्मार्ट टेलिकमको विषयलाई लिएर नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पाण्डेलाई वैशाख २९ गते पक्राउ गरेको थियो । उनलाई गैरकानुनी रूपमा हिरासतमा राखेको भन्दै उनकी पत्नी निरु दाहालले वैशाख ३० गते सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् । सोही रिट उपर अदालतले उक्त जेठ एक गते शुक्रबार उक्त आदेश दिएको हो ।