काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०८२/०८३ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ । राष्ट्र बैंकले शुक्रबार यसअधि कायम रहेको धेरैजसो पुरानै नीतिगत व्यवस्थालाई कायम राख्दै तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गरेको हो ।
विदेशी विनिमय सञ्चिति र मुद्रास्फीति लक्ष्यअनुरूप रहने प्रक्षेपणका आधारमा न्यून आर्थिक वृद्धिको अवस्थालाई दृष्टिगत गर्दै वर्षको सुरुदेखि अवलम्बन गरिएको लचिलो मौद्रिक नीतिको कार्यदिशालाई तेस्रो त्रैमासमा पनि निरन्तरता दिएको राष्ट्र बैंकको भनाइ छ । समीक्षाअनुसार ब्याजदर करिडोर, बैंकदर, अनिवार्य नगद मौज्दात (सीआरआर) तथा वैधानिक तरलता अनुपात (एसएलआर) सम्बन्धी विद्यमान व्यवस्थामा कुनै परिवर्तन गरिएको छैन । यद्यपि, ब्याजदर करिडोरलाई थप प्रभावकारी बनाउन बैंक तथा वित्तीय संस्थालाई स्थायी निक्षेप सुविधा उपलब्ध गराउने व्यवस्थाको पुनरावलोकन गरिने राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकका अनुसार मौद्रिक नीति तथा यसअन्तर्गत गरिएका समीक्षात्मक व्यवस्थाले मूल्य स्थायित्व, बाह्य क्षेत्र र वित्तीय क्षेत्रको स्थायित्व कायम राख्दै आर्थिक क्रियाकलाप विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । मौद्रिक नीति सार्वजनिक गर्नै क्रममा राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ मा आन्तरिक तथा बाह्य दबाबका बाबजुद नेपालको आर्थिक वृद्धिदर तीन दशमलव ८५ प्रतिशत रहने अनुमान गरिएको छ । कृषि क्षेत्रमा मौसम प्रतिकूलता तथा प्राकृतिक प्रकोपका कारण वृद्धिदर एक दशमलव ५८ प्रतिशतमा सीमित रहने देखिए पनि उद्योग क्षेत्रको वृद्धिदर पाँच दशमलव ६७ प्रतिशत र सेवा क्षेत्रको वृद्धिदर चार दशमलव २१ प्रतिशत पुग्ने अनुमान रहेको छ । थोक तथा खुद्रा व्यापार, आन्तरिक तथा बाह्य पर्यटन, जलविद्युत्, वित्तीय तथा बीमा, यातायात, भण्डारण तथा सूचना प्रविधि क्षेत्रमा विस्तार हुँदै गएको राष्ट्र बैंकले जनाएको छ । यसले समष्टिगत मागमा क्रमिक सुधार आउने अपेक्षा गरिएको छ । सरकारले शासकीय, आर्थिक तथा कानुनी सुधारलाई प्राथमिकतामा राखेकाले मौद्रिक नीतिको वर्तमान कार्यदिशाले लगानी वृद्धि तथा आर्थिक गतिविधि विस्तारमा थप सहयोग पुग्ने विश्वास पनि राष्ट्र बैंकले लिएको छ ।
राष्ट्र बैंकले मुद्रास्फीति हाल लक्षित सीमाभन्दा तल रहेको जनाएको छ । आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्म औसत उपभोक्ता मुद्रास्फीति दुई दशमलव ३९ प्रतिशत रहेको छ । यद्यपि, विश्वव्यापी भूराजनीतिक तनाव र विशेषगरी पश्चिम एसियामा जारी युद्धका कारण पेट्रोलियम पदार्थ, कच्चा पदार्थ तथा उपभोग्य वस्तुको आपूर्ति श्रृंखलामा असर परेको उल्लेख गरिएको छ । फागुन १६ देखि वैशाख ३१ सम्म पेट्रोलको मूल्य ३५ प्रतिशत र डिजेलको मूल्य ५८ प्रतिशतले बढेको तथ्य राष्ट्र बैंकले प्रस्तुत गरेको छ । यद्यपि, वार्षिक औसत उपभोक्ता मुद्रास्फीति लक्ष्यभित्रै रहने प्रक्षेपण गरिएको छ । चालू आर्थिक वर्षको नौ महिनासम्म विप्रेषण आप्रवाह उल्लेख्य रूपमा बढेकाले चालू खाता, शोधनान्तर स्थिति र विदेशी मुद्रा सञ्चिति सुधारोन्मुख रहेको राष्ट्र बैंकले जनाएको छ । तथापि, नेपालको करिब ४० प्रतिशत विप्रेषण पश्चिम एसियाबाट आउने भएकाले उक्त क्षेत्रमा तनाव लम्बिए विप्रेषणमा असर पर्न सक्ने र आयातित वस्तुको मूल्यवृद्धिसँगै व्यापार घाटा बढ्न सक्ने रहेको राष्ट्र बैंकको भनाइ छ । यद्यपि, विदेशी विनिमय सञ्चितिले आयात धान्ने क्षमता राष्ट्र बैंकको लक्ष्यभन्दा माथि रहने प्रक्षेपण गरिएको छ ।
समीक्षाअनुसार बैंक तथा वित्तीय संस्थाको निष्क्रिय कर्जा केही बढे पनि आर्थिक गतिविधिमा सुधार भएसँगै त्यसमा क्रमिक सुधार आउने अपेक्षा गरिएको छ । २०८२ चैत मसान्तसम्म बैंक तथा वित्तीय संस्थाको प्राथमिक पुँजी तथा पुँजीकोषको जोखिम भारित सम्पत्तिसँगको अनुपात नियामकीय मापदण्डभित्र रहेको राष्ट्र बैंकले जनाएको छ । यसैगरी विगत तीन वर्षदेखि वित्तीय प्रणालीमा अधिक तरलताको अवस्था कायम रहेको उल्लेख गर्दै राष्ट्र बैंकले यस्तो अवस्थाले समष्टिगत आर्थिक परिसूचकमा पार्न सक्ने प्रभावलाई व्यवस्थापन गर्न आवश्यक कदमप्रति आफू सजग रहेको पनि प्रस्ट पारेको छ ।