तेहरान । युरोपेली देशहरू ‘स्ट्रेट अफ हर्मुज’ हुँदै जहाजहरूको आवागमन खुला गर्न युरोपेली देशहरू तेहरानसँग कुराकानी गरिरहेको इरानको सरकारी टेलिभिजनले शनिबार बताएको छ ।
सरकारी टेलिभिजनले भनेको छ, ‘विशेषगरी चीन, जापान र पाकिस्तानलगायतका पूर्वी एसियाली देशहरूका जहाजहरू पार भएपछि हामीले आज सूचना प्राप्त गरेका छौँ कि युरोपेलीहरूले पनि रिभोलुसनरी गाड्र्स नौसेनासँग वार्ता सुरु गरेका छन् ।’
फेब्रुअरी २८ मा अमेरिका र इजरायलसँग युद्ध सुरु भएयता इरानले यस महत्वपूर्ण जलमार्गबाट जहाजको आवागमन र ढुवानीमा ठूलो मात्रामा रोक लगाएको छ। अमेरिका र इरानबीचको युद्धविराम अप्रिल ८ देखि जारी छ । जलमार्गमा यसको पकडले विश्व बजारलाई तहसनहस बनाएको छ। संयुक्त राज्य अमेरिकाले इरानी बन्दरगाहहरूमा आफ्नै नौसैनिक नाकाबन्दी लगाएको घोषणा गरेको छ तर यो प्रतिबन्धको बाबजुत यहाँबाट इरानले आफूले चाहेका जहाजहरूलाई आवतजावतमा अनुमति दिने र रोक्ने काम गरिरहेको छ ।
शान्तिकालमा यो मार्ग भएर विश्वको इन्धन र अन्य वस्तुको ढुवानीको पाँच भागको एक भाग आपूर्ति हुने गरेको छ । इरानको हर्मुज स्ट्रेट व्यवस्थापन नियममासहमति भएपछि हालैका दिनहरूमा इरानले चीनलगायत दर्जनौँ जहाजलाई ओहोरदोहोर गर्न अनुमति दिएको इरानको सेनाको वैचारिक शाखा गाड्र्सले एक विज्ञप्तिमा जानकारी गराएको छ ।
युद्ध सुरु भएदेखि इरानले बारम्बार हर्मुजमार्फत समुद्री यातायात ‘युद्धपूर्वको स्थितिमा फर्कनेछैन’ भनी बारम्बार चेतावनी दिएको छ। गत महिना उसले जलमार्गमा लगाएको करबाट उसले राजस्व प्राप्त गर्न थालेको छ । शनिबार इरानी संसद्को राष्ट्रिय सुरक्षा आयोगका प्रमुख इब्राहिम अजिजीले भने, ‘इरानले जलडमरूमध्य हुँदै आवागमन व्यवस्थापन गर्न एक व्यावसायिक संयन्त्र तयार पारेको छ ।’
एएफपीका अनुसार उनले यो प्रक्रियामा इरानसँग सहकार्य गर्ने व्यापारिक पानीजहाज र पक्षहरुले मात्र यसबाट फाइदा लिन सक्ने उल्लेख गरेका छन् । ‘यो रुट तथाकथित ‘फ्रिडम प्रोजेक्ट’का सञ्चालकका लागि बन्द रहनेछ’, उनले हर्मुज घमँटीमा फसेका व्यापारिक जहाजहरूलाई मार्गदर्शन गर्न अस्थायी अमेरिकी सैन्य अभियानलाई संकेत गर्दै भने ।