काठमाडौं । ब्रिटिस काउन्सिलले समावेशी भाषा नीति र अभ्यासमा आफ्नो दृष्टिकोणअनुसार ‘भाषाप्रति उत्तरदायी शिक्षा’ सम्बन्धी अद्यावधिक अवधारणापत्र सार्वजनिक गरेको छ ।
अवधारणापत्रले शिक्षामा भाषिक नीति तथा अभ्यासबारे संस्थाको दृष्टिकोण प्रस्तुत गर्दै विश्वव्यापी रुपमा अंग्रेजी भाषाको बदलिँदो आयाम र यसका जटिलतालाई स्वीकार गरी भाषिक विविधता तथा समयानूकुल र सन्दर्भअनुसारको निर्णय प्रक्रियाको महत्वलाई जोड दिएको छ । अंग्रेजी भाषाको शिक्षण र सिकाइलाई ब्रिटिस काउन्सिलले विशेष ध्यान दिए पनि यस अवधारणापत्रमा समेटिएका सिद्धान्तलाई बहुभाषिक परिवेशमा कुनै पनि अन्य भाषाको शिक्षण तथा सिकाइमा समेत लागू गर्न सकिनेछ । ब्रिटिस काउन्सिलको यस अवधारणाको केन्द्रभागमा भाषाप्रति उत्तरदायी शिक्षा प्रणालीलाई राखेको छ । साथै, अवधारणापत्रमा नीति निर्माण, पाठ्यक्रम र पाठ्य सामाग्रीको विकास, शिक्षण पद्धति, सिकाइ सामग्री, मूल्याङ्कन विधि, शिक्षक तालिम तथा शिक्षण प्रक्रियालाई उल्लेख गरिएको छ ।
भाषाअनुकूलको शिक्षण र सिकाइ पद्धतिमा दक्षतायुक्त शिक्षकको व्यवस्थाका साथै सहज रूपमा उपलब्ध हुने शिक्षण सामग्री तथा भाषाको दक्षता विकासलाई ध्यानमा राखेर तयार गरिने मूल्यांकन प्रणाली लागू गर्नुपर्ने उल्लेख छ । विभिन्न शिक्षा प्रणालीमा अंग्रेजी भाषाको सिकाइ तथा शिक्षणसम्बन्धी अनुसन्धानको समीक्षा र विस्तृत अध्ययन गरेर ब्रिटिस काउन्सिलको यस अवधारणापत्र तयार पारिएको हो । अनुसन्धान र विस्तृत अध्ययनले पर्याप्त तयारीविनाको अंग्रेजी माध्यमको शिक्षण र सिकाइबाट जोखिम निम्त्याउन सक्ने यथार्थ मनन गर्दै सकारात्मक सिकाइ उपलब्धिमा दीर्घकालीन योजना, शिक्षक विकास र स्रोत–साधनमा उचित लगानी गर्नुपर्नेमा जोड दिएको छ ।