काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ क्षेत्रको लागि औसत निष्क्रिय कर्जाको अनुपात पाँच प्रतिशतभन्दा कम हुनुपर्ने व्यवस्था गरेको भए पनि नेपालमा सञ्चालनमा रहेका २० वटामध्ये १० वटा ठूला वाणिज्य बैंकहरूमा औसतमा सात प्रतिशतभन्दा बढी कर्जा निष्क्रिय देखिएको छ ।
नेपाल राष्ट्र बैंकको चौथो रणनीतिक योजना २०२२–२०२६ अनुसार अन्तर्राष्ट्रिय मुद्राकोषबाट विस्तारित कर्जा सुविधा प्राप्त गर्दा तय गरिएको स्ट्रक्चल बेन्चमार्क र बैंक सुपरीवेक्षण विभागको आर्थिक वर्ष २०८२–०८३ को स्वीकृत वार्षिक कार्ययोजनाअनुरूप स्वतन्त्र पक्षबाट वाणिज्य बैंकहरूको कर्जा लगानीको गुणात्मक र परिमाणात्मक पक्षको मूल्यांकनको लागि लोन पोर्टफोलियो रिभ्यु गर्नको बंगलादेशको हउलादार युनुस एन्ड कम्पनी, चार्टर्ड एकाउन्टेन्ट्ससँग सम्झौता भएको थियो ।
सोहीअनुसार बंगलादेशको उक्त कम्पनीले ग्लोबल आईएमई बैंक, नबिल बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, कुमारी बैंक, राष्ट्रिय वाणिज्य बैंक, लक्ष्मी सनराइज बैंक, हिमालयन बैंक, एनआईसी एसिया बैंक, एनएमबी बैंक र प्रभु बैंकसहितका १० वटा ठूला बैंकहरूको कर्जा गुणस्तर परीक्षण (एलपीआर) गर्दा औसत निष्क्रिय कर्जा र औसत पुँजी पर्याप्तता अनुपात राष्ट्र बैंकले तोकेको न्यूनतम सिमा र बैंकहरूले स्वयम्ले सार्वजनिक गरेको चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अपरिष्कृत वित्तीय विवरणमा उल्लेख भएको भन्दा निकै माथि देखिएको हो । प्रतिवेदनअनुसार अहिले मूल्यांकन सकिएसँगै २०८१ चैत मसान्तको वित्तीय विवरणको आधारमा एलपीआरका लागि छनौट भएका उक्त बैंकको औसत निष्क्रिय कर्जा अनुपात सात दशमलव छ प्रतिशत र औसत पुँजी पर्याप्तता अनुपात ११ दशमलव ३० प्रतिशत देखिएको छ ।
अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) बाट विस्तारित कर्जा सुविधा (ईसीएफ) प्राप्त गर्दा तय गरिएको ‘स्ट्रक्चरल बेन्चमार्क’ अनुसार यी बैंकहरूको एलपीआर गरिएको राष्ट्र बैंकले जनाएको छ । यसका लागि राष्ट्र बैंकले परामर्शदाता छनौट गरेको थियो । जसमा उक्त बैंकहरूको कर्जा लगानीको गुणात्मक तथा परिमाणात्मक पक्षको मूल्यांकनका लागि बंगलादेशको हउलादार युनुस एन्ड कम्पनी, चार्टर्ड एकाउन्टेन्ट्ससँग राष्ट्र बैंकले २०२५ अगस्ट २८ मा करार सम्झौता गरेको थियो । यसैबीच बैंकहरू स्वयम्ले सार्वजनिक गरेको तथ्यांकअनुसार भने चालू आवको पछिल्लो नौ महिना अर्थात् चैत्र मसान्तसम्ममा वाणिज्य बैंकहरूमा औसतमा पाँच दशमलव ४१ प्रतिशत अर्थात् दुई खर्ब ८३ अर्ब कर्जा निष्क्रिय रहेको छ । बैंकहरूले यो अवधिमा ५२ खर्ब ४० अर्ब बढी कर्जा प्रवाह गरेका थिए । उक्त मूल्यांकन गरिएका बैंकहरूमध्ये ग्लोबल आईएमईमा चार दशमलव ९७, नबिल बैंक शून्य दशमलव ९८, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक आठ दशमलव ४१, कुमारी बैंक छ दशमलव ९४, राष्ट्रिय वाणिज्य बैंक चार दशमलव ४८, लक्ष्मी सनराइज बैंक पाँच दशमलव २९, हिमालयन बैंक सात दशमलव ९८, एनआईसी एसिया बैंक शून्य दशमलव ४९, एनएमबी बैंक चार दशमलव ९५ र प्रभु बैंक आठ दशमलव ८४ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।
प्राप्त प्रतिवेदनमा औँल्याइएका नीतिगत सुधारसम्बन्धी सुझावहरू क्रमशः कार्यान्वयन गरी बैंक तथा वित्तीय संस्थाहरूलाई थप सबलीकरण गर्दै लैजाने, पहिचान भएका जोखिम न्यूनीकरण गर्दै वित्तीय स्थायित्व कायम गर्न आवश्यक कार्यहरू अगाडि बढाइने बैंकले जनाएको छ ।
वाणिज्य बैंकहरूमा दुई खर्ब ८३ अर्ब कर्जा निष्क्रिय
वाणिज्य बैंकहरूमा निष्क्रिय कर्जा अर्थात् एनपीएलको मात्रा बढ्दै गएको छ । चालू आर्थिक वर्षको नौ महिनामा वाणिज्य बैंकहरूमा दुई खर्ब ८३ अर्ब ५१ करोड पाँच लाख नौ हजार रुपैयाँ कर्जा निष्क्रिय रहेको राष्ट्र बैंकले जनाएको हो ।
यो अवधिमा २० वटा बैंकले ५२ खर्ब ४० अर्ब ४९ करोड रुपैयाँ कुल कर्जा प्रवाह गरेका थिए । त्यसमध्ये पाँच दशमलव ४१ प्रतिशत कर्जा निष्क्रिय देखिएको हो । यो कर्जा गत आवको सोही अवधिको तुलनामा शून्य दशमलव ३६ प्रतिशत अर्थात् ३५ अर्ब ९२ करोड ८१ लाख ४८ हजार पाँच सय रुपैयाँले बढी हो ।
गत आवको सोही अवधिमा वाणिज्य बैंकहरूले कुल ४९ खर्ब दुई अर्ब ६२ करोड रुपैयाँ कर्जा प्रवाह गर्दा पाँच दशमलव शून्य पाँच प्रतिशत अर्थात् दुई खर्ब ४७ अर्ब ५८ करोड २३ लाख ६० हजार पाँच सय रुपैयाँबराबरको कर्जा निष्क्रिय देखिएको थियो । वाणिज्य बैंकहरू स्वयम्ले सार्वजनिक गरेको चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अपरिष्कृत वित्तीय विवरणमा पनि एकाधबाहेक धेरैजसो बैंकहरूमा निष्क्रिय कर्जा बढेको देखिएको छ । जसमध्ये चालू आवको तेस्रो त्रैमासमा सानिमा बैंकमा तीन दशमलव ९९ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ ।
गत आवको सोही अवधिमा यो बैंकमा तीन दशमलव ४२ प्रतिशत मात्र कर्जा निष्क्रिय रहेको थियो । नेपाल बैंक, एभरेष्ट, एनएमबी र कृषि विकास बैंकमा पनि चालू आवको पछिल्लो नौ महिनाको अवधिमा क्रमशः चार दशमलव ९६, शून्य दशमलव ६१, चार दशमलव ९५ र पाँच दशमलव शून्य छ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । गत आवको सोही अवधिमा यी बैंकहरूमा क्रमशः पाँच दशमलव ४५, शून्य दशमलव ६४, चार दशमलव ४७ र नौ दशमलव ६४ प्रतिशत कर्जा निष्क्रिय देखिएको थियो ।
कुमारी, माछापुच्छ्रे, सिद्धार्थ र हिमालयन बैंकमा पनि पछिल्लो अवधिमा क्रमशः छ दशमलव ९४, चार दशमलव शून्य एक, तीन दशमलव ७१ र सात दशमलव ९८ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । गत आवको सोही अवधिमा यी बैंकहरूमा क्रमशः छ दशमलव ९८, चार दशमलव ५९, चार दशमलव शून्य चार र सात दशमलव ६८ प्रतिशत कर्जा निष्क्रिय देखिएको थियो ।
अपरिष्कृत वित्तीय विवरणअनुसार चालू आवको तेस्रो त्रैमासिक अवधिमा प्राइम, नबिल, ग्लोबल र नेपाल एसबीआई बैंकमा पनि क्रमशः छ दशमलव ३९, शून्य दशमलव ९८, चार दशमलव ९७ र दुई दशमलव ५३ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । गत आवको सोही अवधिमा यी बैंकहरूमा क्रमशः पाँच दशमलव ६५, एक दशमलव ५९, चार दशमलव ९८ र चार दशमलव शून्य छ प्रतिशत कर्जा निष्क्रिय देखिएको थियो ।
लक्ष्मी सनराइज, नेपाल इन्भेष्टमेन्ट मेगा र स्टान्डर्ड चार्टर्ड बैंकमा पनि चालू आवको पछिल्लो नौ महिनामा क्रमशः पाँच दशमलव २९, आठ दशमलव ४१ र एक दशमलव ८१ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । गत आवको सोही अवधिमा यी बैंकहरूमा क्रमशः पाँच दशमलव ८६, छ दशमलव शून्य छ र एक दशमलव ४४ प्रतिशत कर्जा निष्क्रिय देखिएको थियो ।
सिटिजन्स र एनआईसी एसिया बैंकमा पनि पछिल्लो अवधिमा क्रमशः छ दशमलव ८२ र शून्य दशमलव ४९ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । गत आवको सोही अवधिमा यी बैंकहरूमा क्रमशः पाँच दशमलव ७१ र एक दशमलव ९२ प्रतिशत कर्जा निष्क्रिय देखिएको थियो । राष्ट्रिय वाणिज्य बैंक र प्रभु बैंकमा पनि पछिल्लो अवधिमा क्रमशः चार दशमलव ४८ र आठ दशमलव ८४ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । गत आवको सोही अवधिमा यी बैंकहरूमा क्रमशः चार दशमलव ६९ र पाँच दशमलव शून्य नौ प्रतिशत कर्जा निष्क्रिय देखिएको थियो ।