काठमाडौँ । सर्वोच्च अदालतले भ्रष्टाचार प्रकरणमा थुनामा रहेका पूर्वमन्त्री राजकुमार गुप्तालाई धरौटीमा थुनामुक्त गर्न आदेश गरेको छ । न्यायाधीशद्वय शारङ्गा सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले विशेष अदालतको पुर्पक्षका लागि थुनामा पठाउने आदेश बदर गर्दै धरौटीमा थुनामुक्त आदेश गरेको हो ।
सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार पूर्वमन्त्री गुप्तालाई धरौटीमा छाड्न आदेश भएको छ । पोखराको लिचीबारी जग्गाको भ्रष्टाचार मुद्दामा विशेष अदालतले थुनामा राख्न आदेश दिएको थियो । त्यसविरुद्ध निवेदन लिएर गुप्ता सर्वोच्च पुगेका थिए । २०८२ पुस १६ गते विशेष अदालतका न्यायाधीश सुदर्शनदेव भट्ट, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले गुप्तालाई थुनामा पठाउन आदेश दिएको थियो । त्यसपछि उनी कारागार चलान भएका थिए ।
लिचीबारी जग्गाको कारोबार मिलाउन बिचौलियासँग उनले गरेको अडियो संवाद आर्थिक दैनिकले सार्वजनिक गरेको थियो । त्योसँगै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गुप्ता र पूर्वमन्त्री रञ्जिता श्रेष्ठविरुद्ध अदालतमा मुद्दा लगेको थियो ।