काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई)को युवा संगठन, सीएनआई युवा उद्यमी मञ्चले काठमाडौंमा ‘नेपालको आर्थिक तथा औद्योगिक अवस्थाको विश्लेषण’ विषयक एक उच्चस्तरीय अन्तरक्रिया सम्पन्न गरेको छ ।
कार्यक्रममा सीएनआईवाइईएफका अध्यक्ष मनिष श्रेष्ठले वर्तमान आर्थिक अवस्थाको सही विश्लेषण गर्नुपर्नेमा जोड दिए । ‘भविष्यको मार्ग तय गर्न हामीले पहिले आफ्नो वर्तमान अवस्थाको सही विश्लेषण गर्नुपर्छ । अनुभवी नीति निर्माता र युवा उद्यमीहरूको ऊर्जाबीचको दूरी मेटाउन मन्च सधैँ प्रतिबद्ध छ, उनले भने । छलफलका क्रममा संघीय वित्तीय प्रशासनका जटिलता, औद्योगिक विकासमा रहेका कानुनी बाधा र नेपालको वाणिज्य क्षेत्रमा भइरहेको परिवर्तनबारे गम्भीर विमर्श गरिएको थियो । प्रश्नोत्तर सत्रमा उत्पादन, प्रविधि र सेवालगायत विभिन्न क्षेत्रका प्रतिनिधिहरुले तरलता, नीतिगत स्थिरता र लगानीको वातावरणका विषयमा प्यानलिस्टहरूसँग जिज्ञासा राखेका थिए । कार्यक्रममा नेपाली अर्थतन्त्रका संरचनागत चुनौतीहरू र विकासका सम्भावनाबारे विश्लेषण गर्न युवा व्यवसायी नेतृत्व, नीति विज्ञ र उद्योगीहरूलाई सहभागी थिए ।
छलफलका प्यानलिस्टहरूमा उद्योग, वाणिज्य तथा आपूर्तिलगायतका विभिन्न मन्त्रालयको जिम्मेवारी सम्हालेका पूर्वमन्त्री अनिल कुमार सिन्हा, र पूर्व अर्थमन्त्री रामेश्वर प्रसाद खनाल थिए । नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेलगायत सहभागी भएको कार्यक्रमको सहजीकरण मञ्चकी उपाध्यक्ष निदा दून मल्लले गरेकी थिइन् ।