काठमाडौं । बैंक तथा वित्तीय क्षेत्रमा बढ्दो कार्यदबाब, असुरक्षित कार्य वातावरण, मानसिक स्वास्थ्य समस्या तथा कर्मचारीमाथि भइरहेको दुर्व्यवहारका घटनाप्रति विभिन्न बैंक कर्मचारी संगठनहरूले गम्भीर ध्यानाकर्षण जनाएका छन् ।
गत जेठ ४ गते ग्लोबल आईएमई बैकको विराटनगर शाखामा कार्यरत कर्मचारी पिताम्बर खड्काको दुःखद् आत्महत्यापछि बैंकिङ क्षेत्रमा कार्यरत श्रमजीवी कर्मचारीहरू स्तब्ध, मर्माहत र चिन्तित बनेका छन् । संयुक्त रूपमा जारी विज्ञप्तिमा संगठनहरूले दिवंगतप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेका छन् । विज्ञप्तिमा उक्त घटनालाई केवल व्यक्तिगत दुर्घटना नभई पछिल्लो समय बैंकिङ क्षेत्रमा बढ्दो अत्यधिक कार्यदबाब, अस्वस्थ कार्यसंस्कृति तथा श्रम व्यवस्थापनसँग सम्बन्धित गम्भीर समस्याको संकेतका रूपमा लिइएको उल्लेख गरिएको छ । संगठनहरूका अनुसार निरन्तरको मानसिक दबाब, कार्य–जीवन सन्तुलनको अभाव तथा अत्यधिक जिम्मेवारीका कारण कर्मचारीहरूको व्यक्तिगत, पारिवारिक र मानसिक स्वास्थ्यमा नकारात्मक असर परिरहेको छ । त्यसैगरी, बैंकिङ नियम, कानुन तथा मापदण्डअनुसार काम गर्दासमेत कर्मचारीहरू विभिन्न दबाब समूहबाट धम्की, दुर्व्यवहार, व्यक्तिगत अपमान तथा असुरक्षाको सामना गर्न बाध्य भइरहेको विज्ञप्तिमा उल्लेख छ । सामान्य बैंकिङ प्रक्रियाअन्तर्गत गरिएको कामलाई समेत कतिपय अवस्थामा ‘गैरकानुनी’ भन्दै कर्मचारीहरूलाई अनावश्यक कानुनी झन्झट, सामाजिक आरोप तथा मानसिक तनावमा पार्ने प्रवृत्ति बढ्दै गएको भन्दै संगठनहरूले चिन्ता व्यक्त गरेका छन् ।
संयुक्त विज्ञप्तिमा नेपालको संविधान तथा प्रचलित कानुनले प्रत्येक श्रमिकलाई सुरक्षित, सम्मानजनक र मर्यादित कार्य वातावरणको अधिकार सुनिश्चित गरेको उल्लेख गर्दै नेपाल सरकार, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, नेपाल राष्ट्र बैंकलगायत सम्बन्धित निकायसँग बैंकिङ क्षेत्रमा श्रम मापदण्डको पूर्ण कार्यान्वयन गर्न माग गरिएको छ । साथै कार्यसमय तथा अतिरिक्त कार्यको स्पष्ट व्यवस्थापन, मानसिक स्वास्थ्य संरक्षणका लागि प्रभावकारी परामर्श प्रणाली तथा कार्यस्थलमा हुने सबै प्रकारका दुर्व्यवहारविरुद्ध कडा संयन्त्र निर्माण गर्नुपर्ने माग पनि गरिएको छ ।
विज्ञप्तिमा उच्च तहका कर्मचारीमाथि कारबाही हुँदा आवाज उठाउने विभिन्न समूह तथा संस्थाहरू यस घटनामा उठिरहेका सम्भावित ‘आत्महत्या दुरुत्साहन’ सम्बन्धी गम्भीर प्रश्नमा मौन रहेको भन्दै चिन्ता व्यक्त गरिएको छ । संगठनहरूले घटनाको निष्पक्ष छानबिन गरी यदि कसैको प्रत्यक्ष वा अप्रत्यक्ष दबाब, दुरुत्साहन, गैरजिम्मेवार व्यवहार वा संस्थागत लापरवाही प्रमाणित भए कानुनअनुसार कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेका छन् । बैंकिङ क्षेत्रको दिगो र जिम्मेवार विकासका लागि कर्मचारीमैत्री कार्यसंस्कृति, सुरक्षित कार्य वातावरण तथा श्रम अधिकारको पूर्ण प्रत्याभूति अपरिहार्य रहेको उल्लेख गर्दै संगठनहरूले बढ्दो मानसिक दबाब, असुरक्षा तथा कार्यस्थलमा हुने दुर्व्यवहार न्यूनीकरणका लागि सम्बन्धित सबै पक्षले तत्काल ठोस पहल गर्नुपर्ने बताएका छन् । संयुक्त विज्ञप्तिमा एभरेस्ट बैंक कर्मचारी संगठन, नबिल बैंक कर्मचारी संघ, एनआईसी एसिया बैंक कर्मचारी संघ, प्रभु बैंक वित्तीय संस्था कर्मचारी युनियन, नेपाल एसबीआई बैंक कर्मचारी संघ, हिमालयन बैंक कर्मचारी संगठन तथा सिद्धार्थ बैंक कर्मचारी संघले हस्ताक्षर गरेका छन् ।