काठमाडौं । निजी क्षेत्रको सबैभन्दा ठुलो संस्था नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदमा सुरकृष्ण वैद्य र कोषाध्यक्ष पदमा मनिषलाल प्रधान निर्वाचित भएका छन् ।
महासंघको केन्द्रीय कार्यालय टेकुमा शुक्रवार सम्पन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षमा वैद्य र कोषाध्यक्षमा प्रधान विजयी भएका हुन् । वरिष्ठ उपाध्यक्ष पदका लागि सुरकृष्ण वैद्य, रामचन्द्र संघाई र हेमराज ढकालले मनोनयन गर्दा गरेका थिए । तर ढकालले भने पछि उम्मेवारी फिर्ता लिएका थिए । यसैगरि कोषाध्यक्ष पदमा मनिषलाल प्रधान अम्बिकाप्रसाद पौडेलको उम्मेदवारी परेको थियो । महासंघको विधान–२०४९ (सातौं संशोधनसहित) को दफा २९.५ र २९.८ बमोजिम वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष चयन गरिएको हो ।
यसैबीच महासंघका अध्यक्ष अन्जन श्रेष्ठले दुई जना महिलासहित ६ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेका छन् । केन्द्रीय सदस्यमा मनोनित हुनेहरूमा शिवप्रसाद घिमिरे, मनीषलाल प्रधान, नवीन रिजाल, गोकर्ण कार्की, दर्शना श्रेष्ठ, र सहारा जोशी रहेका छन् । महासंघको विधान धारा २९ को (च) १० को व्यवस्थाअनुसार सबै सदस्य समूहको प्रतिनिधित्व हुनेगरी कम्तीमा दुई जना महिलासहित ७ जना सदस्य मनोनित गर्न पाउने प्रावधान छ । सोही प्रावधानबमोजिम अध्यक्ष श्रेष्ठले शुक्रबार ६ जना सदस्यहरू मनोनित गरेका हुन् । विधानतः बाँकी रहेको एक सदस्य पदमा भने मनोनय गर्न बाँकी रहेको छ ।
नवनिर्वाचित तथा मनोनित पदाधिकारी एवं सदस्यहरूलाई महासंघका अध्यक्ष अन्जन श्रेष्ठले शुक्रबार नै पद तथा गोपनीयताको शपथग्रहण गराएका थिए । । सो क्रममा अध्यक्ष श्रेष्ठले निजी क्षेत्रको व्यावसायिक हकहित र देशको आर्थिक विकासका लागि सबै एकजुट भएर अगाडि बढ्नु पर्ने बताए । महासंघको वैशाख २१ र २२ मा सम्पन्न ६०औँ वार्षिक साधारणसभा तथा निर्वाचनपश्चात् विधानको २९.३ को (वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने) व्यवस्थाअनुसार अन्जन श्रेष्ठ महासंघको अध्यक्षमा निर्वाचित भएका थिए । २०८१ मंसिरमा गरिएको सातौं संशोधनअनुसार यस कार्यकालका लागि मात्र वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान लागू गरिएको थियो । संशोधित विधानमा आगामी कार्यकालदेखि वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था नभई साधारण सभाबाट प्रत्यक्ष निर्वाचनमार्फत अध्यक्ष निर्वाचित हुने व्यवस्था छ ।