तेहरान । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले मध्यपूर्वमा जारी युद्ध औपचारिक रूपमा अन्त्य गर्न सक्ने इरानसँगको सम्भावित सम्झौता चाँडै सार्वजनिक हुन सक्ने बताएका छन् ।
नयाँदिल्लीमा उनले आगामी केही घण्टाभित्रै विश्वले सकारात्मक समाचार पाउन सक्ने सम्भावना रहेको उल्लेख गरेका थिए । आफ्नो पहिलो भारत भ्रमणमा रहेका रुबियोले उदीयमान सम्झौताले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको स्ट्रेट अफ हर्मुजसम्बन्धी चिन्तालाई सम्बोधन गर्ने बताए । स्ट्रेट अफ हर्मुज इरान–अमेरिका–इजरायल तनावपछि केही हदसम्म अवरुद्ध भएको अवस्थामा छ ।
उनका अनुसार प्रस्तावित सम्झौताले यस्तो प्रक्रिया सुरु गर्न सक्छ जसले अन्ततः इरानको आणविक हतियारसम्बन्धी डर हटाउने अवस्थातर्फ लैजान सक्नेछ । यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुज जलघाँटी खोल्ने विषयमा भइरहेको छलफललाई ‘धेरै हदसम्म अघि बढेको’ बताएका छन् । उनले सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत अमेरिका, इरान र अन्य देशहरूबीच अन्तिम सम्झौता तयार पार्ने प्रक्रिया नजिक पुगेको दाबी गरेका थिए ।
उदीयमान सम्झौताले अमेरिकाभित्रै पनि राजनीतिक बहस सिर्जना गरेको छ । सिनेटर टेड क्रुज र पूर्वविदेशमन्त्री माइक पोम्पेओजस्ता ट्रम्पका निकट सहयोगीहरूले सम्भावित सहमतिबारे आलोचना गर्दै इरानलाई आर्थिक र रणनीतिक लाभ पुग्ने सम्भावनाप्रति आपत्ति जनाएका छन् । उनीहरू दुवै इजरायलका कट्टर समर्थक मानिन्छन् । क्रुजले यस्तो सम्भावित परिणामलाई ‘विनाशकारी गल्ती’ हुन सक्ने चेतावनी दिए ।आलोचनाबारे प्रतिक्रिया दिँदै रुबियोले इरानविरुद्ध सुरु गरिएको ‘एपिक फ्युरी’ नामक अभियानको उद्देश्य स्पष्ट रहेको बताए । उनका अनुसार यस अभियानअन्तर्गत इरानको नौसेना क्षमतामा ठूलो क्षति पु¥याइएको छ । उनले अमेरिकाले इरानको ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार क्षमतालाई उल्लेखनीय रूपमा कमजोर बनाउने र देशको रक्षा–औद्योगिक संरचनामा क्षति पुर्याउने लक्ष्य राखेको पनि उल्लेख गरे । रुबियोका शब्दमा, ‘एपिक फ्युरी’ अभियानका सबै प्रमुख उद्देश्यहरू पूरा भइसकेका छन् ।
इरान र अमेरिकाको फरक–फरक व्याख्या
यसैबीच, अमेरिकी विदेशमन्त्री मार्को रुबियोले विश्वले केही राम्रो समाचार प्राप्त गर्न सक्ने बताएलगत्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘स्ट्रेट अफ हर्मुज’ पुनः खोल्ने सम्झौता भएको घोषणा गरेका छन् ।
ट्रम्पको घोषणाअघि इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले वाशिङटनसँग ‘मेलमिलापको श्रृंखला’को सम्भावना रहेको तर यसको मतलब इरान र संयुक्त राज्य अमेरिकासँग महत्वपूर्ण मुद्दाहरूमा एक सम्झौतामा पुग्ने निश्चित भएको भन्ने अझै होइन । उनले सरकारी टेलिभिजनमा ३० देखि ६० दिनभित्र अन्तिम सम्झौता हुनुअघि इरानको ‘सबैभन्दा पहिले समझदारी पत्र, एक प्रकारकोे मस्यौदा तयार पार्ने मनसाय रहेको बताए ।
अमेरिकी राष्ट्रपति ट्रम्पसँग साउदी अरब, संयुक्त अरब इमिरेट्स, कतार, इजिप्ट, जोर्डन र बहराइनका नेताहरूका साथै टर्की र पाकिस्तानका प्रतिनिधिहरूले शनिबार कुराकानी गरेका थिए । गत अप्रिलमा अमेरिका र इरानी प्रतिनिधिमण्डलबीच ऐतिहासिक साक्षात्कारमा मध्यस्थता गरेको पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफले ‘चाँडै नै अर्को चरणको वार्ता’ आयोजना गर्ने आशा गरेको बताएका छन् । रासस/एएफपी