काठमाडौं । एन्टी मनि लाउन्डरिङ नेपाल र गरिमा क्यापिटल लिमिटेड नेपालका कर्मचारीहरूका लागि धितोपत्र बजार केन्द्रित एकदिने एएमएल/सीएफटी (एन्टी मनि लाउन्डरिङ एन्ड काउन्टर फाइनान्सिङ अफ टेरोरिजम ) तालिम कार्यक्रम सम्पन्न भएको छ ।
नेपालमा एएमएल तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी नियन्त्रण (सीएफटी) सम्बन्धी परामर्श सेवामा विशेषीकृत संस्थाको रूपमा परिचित एएमएल नेपालले आयोजना गरेको उक्त तालिमको मुख्य उद्देश्य धितोपत्र बजार, विशेषगरी मर्चेन्ट बैंकिङ व्यवसायमा एएमएल/सीएफटी सम्बन्धी व्यावहारिक ज्ञान, नियामकीय दायित्व तथा अनुपालन क्षमताको अभिवृद्धि गर्नु रहेको थियो । तालिममा अन्तर्राष्ट्रिय एएमएल/सीएफटी अवधारणा, नेपालको कानुनी तथा नियामकीय व्यवस्था, नेपाल धितोपत्र बोर्ड (सेबोन) को एएमएल निर्देशन अनुसार बजार मध्यस्थकर्ताहरूको भूमिका तथा जिम्मेवारी, साथै मर्चेन्ट बैंकरहरूको व्यावहारिक अनुपालन अपेक्षाबारे विस्तृत प्रस्तुति गरिएको थियो ।
कार्यक्रमको सहजीकरण विज्ञद्वय श्रीधर अधिकारी तथा लेखनाथ पोखरेलले गरेका थिए । कार्यक्रममा गरिमा क्यापिटलका कर्मचारीहरूको उत्साहजनक सहभागिता रहेको थियो भने सहभागीहरूले नेपाली धितोपत्र बजारमा देखिएका वास्तविक अनुपालन चुनौती तथा उत्कृष्ट अभ्यासबारे सक्रिय छलफल गरेका थिए । कार्यक्रमका क्रममा एएमएल नेपालका प्रतिनिधिहरूले नेपालको पुँजी बजारलाई पारदर्शी, विश्वसनीय तथा वित्तीय अपराधमुक्त बनाउन प्रभावकारी एएमएल/सीएफटी अनुपालन अपरिहार्य रहेको बताएका थिए । उनीहरूले यस्तो अनुपालनले वित्तीय प्रणालीको दीर्घकालीन स्थायित्व र सुदृढीकरणमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे ।
एएमएल नेपालले नेपालमा एएमएल/सीएफटी सम्बन्धी परामर्श, तालिम, नीति निर्माण, जोखिम मूल्यांकन तथा निरन्तर अनुपालन सहयोग प्रदान गर्दै आएको छ । संस्थाले बैंक तथा वित्तीय संस्था, धितोपत्र बजारका मध्यस्थकर्ता तथा अन्य रिपोर्टिङ संस्थाहरूलाई समग्र एएमएल/सीएफटी समाधान उपलब्ध गराउँदै आएको जनाएको छ ।