न्युयोर्क । न्युयोर्कको ज्याक्सन हाइटस्थित सञ्चालित नेपाली भान्साघरकी सञ्चालिका विमला हमाल श्रेष्ठलाई एक समारोहको आयोजना गरी स्याङ्जा समाज अमेरिकाले सम्मान गरेको छ ।
न्युयोर्कको प्रसिद्ध पत्रिका न्युयोर्क टाइम्सले प्रत्येक वर्ष न्युयोर्कमा सञ्चालित रेस्टुरेन्टहरूको खानाको परिकारदेखि व्यवस्थापन र सरसफाई साथै ग्राहकहरूले मन पराएको आधारमा एक सयवटा उच्च नम्बर राखी त्यसमा छनोट गर्ने गर्दछ । यस पटक एक सयको छनोटमा नेपाली भान्साघरले ६७औँ नम्बर प्राप्त गरेको थियो ।
एक सय नम्बरभित्र परी नेपाली भान्साघरले नेपालीहरूको खानाको परिकार विश्वभर चिनाएर नेपालको नाम उच्च पारेको उपलक्ष्यमा स्याङ्जा समाज अमेरिकाले समाजको पूर्वअध्यक्ष समेत रहेकी हमाललाई सम्मानपत्र सहित विशेष सम्मान गरेको हो ।
स्याङ्जा समाज अमेरिकाका अध्यक्ष प्रदीप खड्काको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा पूर्वअध्यक्ष तथा सल्लाहकार दिनेश भण्डारी, सल्लाहकार लिल मल्ल, मानार्थ सदस्य सन्त रिसाललगायतका व्यक्तिहरूले शुभकामना दिएका थिए ।
स्याङ्जा समाज अमेरिकाका संस्थापक अध्यक्ष तथा स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रियका भूपू अध्यक्ष वीरेन्द्रजंग केसीको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा उनले नेपाली भान्साघर न्युयोर्क टाइम्सको छनोटमा पर्नु र सम्मानित हुनु स्याङ्जालीकोमात्र नभएर सम्पूर्ण नेपाल र नेपालीको सम्मान भएकोमा हमाललाई बधाइ दिएको कार्यक्रम संचालक समाजका महासचिव शिवभक्त जंग केसीले बताए ।