कोरोनाको माहामारीमा सतर्क रहन, भिडभाड नगर्न केही दिन होसियारीपूर्वक जोगिन भन्दै सरकार दैनिक र कतिपय अवसरमा त दिनको चार पटक समेत अपिल गरिरहेको छ । तर यता सरकार भने जे–जे गर्दा भिडभाड बढ्छ र कोरानाको संक्रमण विस्तार हुन मदत पुग्छ त्यही–त्यही काम गरिरहेको छ ।
कोरोना व्यापक भइरहेको बेला पछिल्लो समय नागरिकहरू हजरौंका संख्यामा सडकमा निस्कन बाध्य भएका छन् । त्यसको पछिल्लो उदाहरण हो रूपन्देहीको आन्दोलन । यसमा कर्फ्यू नै लाग्यो तर आन्दोलन रोकिएन । कारण थियो प्रदेश ५ को राजधानीका विषयमा । यतिबेला यो काम नगरेको भए पनि देशमा केही बिग्रिनेवाला थिएन । अस्थायी राजधानीमै सबै काम चलिरहेकै थिए । यता राजधानी कहाँ राख्न उपयुक्त हुन्छ भन्नेबारे सुझावसहितको प्रतिवेदन दिन गठन भएको समितिले त्यस्तो प्रतिवेदनसमेत नदिई एक्कासी राजधानी सार्न खोज्दाको विवाद थियो यो । जसले सडक र सदनमा चरम रूप लियो ।
समाज नै विभाजित भएको यो मुद्दामा प्रदेश नं ५ को गरिमामय अवस्था समेतलाई ओझेलमा पर्ने काम भयो । एर्कातिर प्रदेशको संसद एक प्रकारले युद्ध मैदानजस्तो बन्यो । राजधानी सार्ने कुराले मान्छेलाई सडकमा त ओराल्यो नै प्रदेश संसद् पनि पीडित बन्यो । संसद्मा आन्तरिक मामिला तथा कानुन मन्त्रीले सम्बोधन गर्ने क्रममा प्रयोग गरको भाषा असहिष्णु, अमर्यादित रहेको भन्दै नेपाली कांग्रेसको प्रदेश ५ सचेतकले त्यो रेकर्डबाट हटाउन माग गरिन् ।
यिनै मन्त्रीको उत्तेजक भनाइका कारण संसद तोडफोडमा प-यो । नेपाली कांग्रेसका सांसदहरूलाई घिसारेर निकालिहाल भन्ने मन्त्रीको निर्देशनले यस्तो उग्ररूप लियो, त्यसपछि बैठक नै बस्न सकेन । सडकमा पनि यस्तै भयो । यसले राजधानी जहाँ भए पनि यस्तो महामारीको बेला यससँग लडिरहेका जनतालाई आपसमा लड्न उत्प्रेरित गरेको बुझाउँछ । त्यस दिनको संसद्को एउटा झलक विपक्षको यो विज्ञप्तिले पनि बताउँछ । त्यसमा भनिएको छ– नेपालको संविधान र संसदीय व्यवस्थामा बहुमतको सरकार, सत्ता र प्रतिपक्षको संसद् भन्ने मान्यता र संसद्को समेत धज्जी उडाउने गरी सभामुखलाई साक्षी राखेर अशोभनीय र अमर्यादित शब्द प्रयोग गरिएको प्रति खेद प्रकट गर्दछौँ ।
खेद त कोरोना महामारीप्रति हुनुपर्ने थियो । तर अवस्था कस्तो भयो भने दुईवटा दल आपसमै भिड्न लागे । त्यसै पनि जनता सडकमा यसरी नै विभाजित भएर एकअर्काप्रति प्रहार गरिरहेका थिए । आजको अवस्थाको सवाल हो, स्थानीय जनतालाई यसरी भिडन्तमा उतार्ने काम कसले ग¥यो ? के यो काम महामारी साम्य भएपछि गर्दा पनि हुने थिएन ? यतिबेला सबैतिरको एउटै आरोप छ केन्द्रीय नेतृत्वले अतिराजनीति गरेका कारण यो स्थिति आएको हो ।
त्यसै पनि प्रदेशका राजधानीलाई शीर्ष नेताहरूले आफ्नो गोजीबाट नगद बाँडेजसरी बाँड्दै आएका थिए । केन्द्रको नेतृत्व कुनै न कुनै विवाद झिकेर आफ्नो असफल नेतृत्वको रक्षा गर्न चाहन्छ भन्ने कुरा यो ठाउँमा पनि देखियो । जसका कारण प्रदेश ५ को स्थायी राजधानी विवादले बुटवलको सडक र प्रदेशसभामा यस्तो हंगामा भयो । यसको दोष नेतृत्वले लिनुपर्छ । तर ऊ आफैँ रमिते भएको अवस्था झनै दुःखदायी बनेको छ ।