काठमाडौं ।
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंको प्रवक्ता सोमेन्द्र सिंह राठौरका अनुसार संगठित तवरले गरिएको विद्युतीय कारोबार ऐनअन्तर्गतको कसुर र बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी सुशील गर्ग पक्राउ परेका हुुन् ।
प्रवक्ता राठौरका अनुसार नेपाल राष्ट्र बैंकको स्वीकृत लिई काठमाडौं जिल्ला का.म.न.पा. ११ सिंहदरबारस्थित कृषि विकास बैंकको मुख्य कार्यालय रही ‘क’ वर्गको वित्तीय कारोबार गर्ने मुख्य कार्यालय तथा शाखा कार्यालय सिरहा लाहान तथा उपशाखा कार्यालयहरुबाट वित्तीय कारोबार गर्दै आएकोमा २०७६ असोज ७ गतेदेखि विपक्षी सुनिता श्रेष्ठले शाखा कार्यालय न्युरोड शाखाबाट निजको खातामा रकमान्तर भएको जम्मा ४९ लाख ५० हजार रकमबाट नौ लाख ५० हजार भुक्तानी लिएको अनुसन्धानबाट खुलेको थियो ।
सोही दिन २० लाख रुपैयाँ रकम प्रतिवादी श्रवण कुमार श्रेष्ठको खातामा रकमान्तर गर्न चेक पेश गरेको अवस्थामा शंका लागी बैंकको सिस्टम चेक गर्दा विपक्षीहरु श्रवण कुमार श्रेष्ठ, सुनिता श्रेष्ठ, विजय शाह, चन्द्र बहादुर बुढा, लुरानी घले तामाङ्ग, राम कुमार भन्ने राम कृष्ण भुषाल, त्रिपुरा समिल, लेइस घले, लवाङ तामाङ्ग, दिपक नेपाल, कैलाश विकास बैंक, एकाउण्टेन्ट, भारती इन्टरप्राइजेज समेतका प्रतिवादीहरुको खातामा बैंकको मौज्दातबाट विभिन्न मितिमा जम्मा चार करोड ८८ लाख ४६ हजार रकम रकमान्तर गरेको देखिएको थियो । उक्त घटनामा प्रतिवादीहरुमध्येका केही व्यक्तिहरुले केही रकम निकाल्न बाँकी राखी हालसम्म जम्मा तीन करोड चार लाख भुक्तानी लिइसकेको देखिन आएको थियो ।
उक्त घटनामा प्रतिवादीहरुले आपराधिक समूहका व्यक्तिहरुसँग जानी–जानी एक आपसमा साँठगाँठ गरेको अनुसन्धानबाट खुुलेको छ । आपराधिक समूहले आफूलाई आर्थिक लाभ लिई बैंकको वित्तीय प्रणालीमा जोखिम ल्याई विद्युतीय माध्यमको दुरुपयोग गरी संगठित तवरले अनधिकृतरुपमा बैंकको सिस्टममा पहुँच राखी बैंकको मौज्दात रकमबाट प्रतिवादीहरुको खातामा रकमान्तर गरी रकम निकाली बैंकलाई हानि नोक्सानी पु-याएका थिए ।
‘संगठितरुपमा अपराध गरी कृषि विकास बैंकलाई क्षति पु-याएका ३८ जनामध्येका प्रतिवादी सुशील गर्ग यही असोज १९ गते पक्राउ गरिएको हो’, प्रवक्ता राठौरले भने । प्रवक्ता राठौरका अनुसार प्रतिवादी गर्ग समेत हालसम्म १८ जना पक्राउ भई कारबाही भएको अन्य २० जना प्रतिवादी हालसम्म फरार रहेका छन् । उनीहरुको पनि खोजी कार्य जारी राखेको प्रवक्ता राठौरले बताएका छन् ।