काठमाडौं ।
कोरोना महामारीमा रगतको अभाव परिपूर्ति गर्न प्रभु हस्पिटल वीरगञ्जले आफ्नो प्रथम स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । रक्तदान कार्यक्रममा सात महिलासहित ६४ जनाले रक्तदान गरेका छन् । पर्साका प्रमुख जिल्ला अधिकारी आसमान तामाङले रक्तदाता रिन्कु गुप्तालाई रगतको पोका हस्तान्तरण गरी रक्तदान कार्यक्रमको प्रारम्भ गरेका थिए ।
कोरोना महामारीमा समयमै उपचार नपाएर गम्भीर भएका बिरामीलाई रक्तदानजस्ता सामाजिक कामले टेवा पुग्ने प्रमुख जिल्ला अधिकारी तामाङले बताए । आफ्नो स्थापना दिवसको अवसरमा प्रभु हस्पिटलले ६० वर्ष माथिका ज्येष्ठ नागरिक तथा १४ वर्ष मुनिका बालबालिकालाई आश्विन ३० गतेसम्मका लागि निःशुल्क रुपमा ओपीडी चेकजाँच गर्ने अस्पतालका सञ्चालक डा. मनोज गुप्ताले जानकारी दिए ।