लन्डन ।
कोरोनाभाइरसका कारण संकटमा परेको बेलायती राष्ट्रिय ध्वजाबाहक विमान सेवा ब्रिटिस एयरवेजका प्रमुख कार्यकारी अधिकृत अलेक्स क्रुजले राजीनामा दिएको छ । एएफपीका अनुसार कम्पनीले सोमबार जारी गरेको विज्ञप्तिमा क्रुजले तत्काल लागू हुने गरी राजीनामा दिएको जनाएको छ तर राजीनामा दिनुको खास कारण खोलिएको छैन ।
विगत साढे चार वर्षदेखि कम्पनीको प्रमुख कार्यकारी अधिकृतका रुपमा सेवा गर्नु परेका क्रुजको स्थानमा अब सिन डोयलले जिम्मेवारी लिनेछन् । पछिल्ला दिनहरुमा कोरोनाभाइरसका कारण ब्रिटिश एयरवेजले पर्याप्त उडान भर्न नसकेको तथा यात्रुको संख्यामा व्यापक कमी आएको जनाएको छ । ब्रिटिश एयरवेजको मातृसंस्था आइएजीमा पनि फेरबदल गरिएको छ ।
आईएजीमा नयाँ नियुक्त हुनु भएका प्रमुख कार्यकारी लुइस ग्यालेगोले कोरोनाभाइरसका कारण उत्पन्न संकट सामना गर्न आफूहरु सक्षम हुने विश्वास व्यक्त गरे । उनले क्रुजको कार्यकालमा ब्रिटिश एयरवेजले निकै प्रगति गरेको र एयरलाइन्सलाई आधुनिकीकरण गर्न ठोस कार्य गरेको भन्दै प्रशंसा गरेका छन् । ब्रिटिस एयरवेजले यसै वर्ष स्थापनाको एक सय वर्ष मनाउँदै छ ।